हत्याको सत्य तथ्य छानबिन गर्न युवा सङ्घको माग

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घट्नालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गर्न युवा सङ्घ नेपालले माग गरेको छ ।
युवा सङ्घ नेपाल भक्तपुर जिल्लाले आज नयाँथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे देशभरका युवाले आन्दोलन चर्काउने बताउनुभयो ।
पक्राउ परेको दुई जनालाई मात्रै देखाएर अब ड्युटी सकियो भन्ने नठान्न प्रहरीलाई आग्रह गर्दै उहाँले घटनामा अरूको समेत संलग्नता रहेको आशङ्का भएकाले त्यसको तथ्य रुपमा छानबिन गरी बाहिर ल्याउनुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।
कार्यक्रममा युवा सङ्घ भक्तपुर जिल्ला कमिटीका अध्यक्ष पुष्पराज बस्नेतले आपराधिक ढङ्गबाट आफ्नो कार्यकर्ता हत्या भएको भन्दै घटनाको घोर निन्दा र भर्त्सना गरेको बताउनुभयो ।
मृतकका आफन्त स्थानीय भाइकृष्ण श्रेष्ठले घट्नामा दुई जना भन्दा बढीको संलग्नता रहेको नग आशङ्का भएकाले प्रहरीले अनुसन्धानलाई अन्तिम चरणसम्म पुर्याउनुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलन पछि युवा सङ्घले हत्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शंखधर चोकमा प्रदर्शन गरेर चक्का जाम समेत गरेको छ ।
युवा संघका जिल्ला कमिटी सदस्य समेत रहेका श्रेष्ठको मङ्सिर २१ गते राती आफ्नै साथी सुर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ (मुख्य योजनाकार) र मोरङ लेटाङ घर भई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम विश्वकर्माले कुटपिट गरी बीभत्स रुपमा हत्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरीले बिहीबार साँझ हेमन्त र विश्वकर्माको तस्बिर समेत सार्वजनिक गरेको छ ।पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।
मृतकका आफन्तले आज पनि महानगरीय प्रहरी वृत्त थिमि पुगेर घटनाको निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।घटनामा पक्राउ परेका दुई जना आरोपी बाहेक अन्य पनि संलग्न हुनसक्ने आशङ्का व्यक्त गर्दै उनीहरूले अनुसन्धानको दायरा फराकिलो बनाउन माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्