काँग्रेस महाधिवेशन : निर्वाचनमा ‘प्यानल’ बनाउने तयारी

काठमाडौँ ।प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरूको बैठक बोलाउनुभएको छ ।
आज बिहान उहाँको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो । सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसक्नुभएको छ । आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ ।
काँग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।
यसै गरी आजै बिहान काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पनि महाधिवेशनका लागि आफ्नो समूहबाट सभापतिको एक मात्र उम्मेदवार बनाउने विषयमा छलफल गर्न लागेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सो समूहका नेताहरूले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफ्नो समूहका केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्व जिल्ला सभापतिहरूसँग राय–परामर्श गरी एक मात्र उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्