‘नयाँ नेतृत्व छनोटमै काँग्रेस महाधिवेशन केन्द्रित हुन्छ’
काठमाडौँ । नेपाली काँग्रेसको आसन्न महाधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने कुरालाई मुख्य प्राथमिकतामा राखेर महाधिवेशन तयारीको काम भइरहेको सो पार्टीले जनाएको छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २०४६ पछि एउटै महाधिवेशनमा नेतृत्व र नीतिका बारेमा छलफल एवं निर्णय गर्दा नीति निर्धारणको काम ओझेलमा परेकाले यस पटक नयाँ नेतृत्व छनोटमै कांग्रेस महाधिवेशन विशेष रुपमा केन्द्रित हुने बताउनुभयो ।
नवनिर्वाचित कार्यसमितिले नीतिका विषयमा छलफल र निर्णय गर्न अर्को नीतिगत महाधिवेशन गर्ने निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिले यसअघि नै गरिसकेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसको यस पटकको १४औँ महाधिवेशन कुनै पनि नीतिगत प्रतिवेदनमा छलफल नगरी सिधै नयाँ नेतृत्व छनोटमा प्रवेश गर्नेछ ।
महाधिवेशनमा महामन्त्रीको साङ्गठनिक, कोषाध्यक्षको आर्थिक र यसअघिको महासमिति बैठकपछि महाधिवेशनले पारित गर्ने गरी गरिएका निर्णयसम्बन्धी अनुमोदन प्रतिवेदनहरू भने पेस गरिने प्रवक्ता शर्माले बताउनुभयो ।
नयाँ नेतृत्व चयन हुने भएपछि महाधिवेशन प्रतिनिधिको ध्यान नयाँ नेता छान्नमै जाने गरेको छ ।
पार्टीको आसन्न महाधिवेशनमा नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पुन पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।
संस्थापन इतर पक्षबाट सभापतिको उम्मेदवार को हुने हो भन्ने विषयमा भने अझै छलफल नै भइरहेको नेपाली काँग्रेसले जनाएको छ ।
संस्थापन इतर पक्षबाट सभापतिको उम्मेदवार हुन वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टीका पूर्व उपसभापति प्रकाशमान सिंह, महामन्त्री डा शशाङ्क कोइराला र नेता शेखर कोइराला मुख्य आकाङ्क्षीका रुपमा रहनुभएको छ ।
४ जनामध्ये साझा उम्मेदवार चयन गर्न पार्टीमा संस्थापन इतर पक्षका नेताहरू लागिरहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्