नेपालमा ओमिक्रोन भाइरस भित्रिएपछि चितवनमा सर्तकर्ता अपनाउन आग्रह

चितवन । दोस्रो भेरियन्ट प्रभाव मत्थर हुँदै गएपछि चितवन लगायत अन्य ठाउँमा समेत मास्क र स्यानिटाइजरको प्रयोग कम हुँदै गयो । सरकारले निषेधाज्ञा खुला गरेपछि नेपालका विभिन्न ठाउँ सभा, सम्मेलन, सांस्कृतिक कार्यक्रम, मेला लगायत कार्यक्रमहरू हुन थाले । चितवनमा पनि यस्ता कार्यक्रमले तीव्रता पायो । तर पछिल्लो समय अधिकांश मानिसले मास्क लगाउन, स्यानिटाइजरको प्रयोग कम गर्नुको साथै भौतिक दुरीसमेत कम गरेको पाइएको छ ।
केही वित्तीय संस्था र निजी विद्यालयहरू र केही कार्यालयमा मास्क र स्यानिटाइजरको नियमित प्रयोग हुँदै आए पनि अन्य ठाउँमा भने स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरेको पाइएको हो । नेपालमा तेस्रो भेरियन्ट ओमिक्रोन भेटिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले मातहतका कार्यालय तथा अन्य प्रशासनिक निकायहरूलाई समेत यसबारे सतर्कता अपनाउन आग्रह गरेको छ ।
रुपन्देहीमा समेत उच्च सतर्कता अपनाउन आग्रह गरिरहँदा चितवनमा समेत यसको सचेतना र सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले पनि सतर्कता र सचेतना अपनाउन गृहकार्य थालिएको जानकारी दिइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले ओमिक्रोन नेपालमा भेटिएसँगै यस विषयमा प्रशासन गम्भीर भएर लाग्ने बताउनुभयो । ‘मन्त्रालयबाट निर्णय भइसकेर हामीलाई निर्देशन आइसकेको छ, उहाँले भन्नुभयो, हामी यस विषयमा सरोकारवाला निकायसँग बसेर चाडै नै छलफल गर्छौँ ।’
उहाँले पछिल्लो समय मानिसहरूले स्वास्थ्य सुरक्षामा लापरबाही भइरहेको देखिएकोले पुनः सचेतना फैलाउनुपर्ने आवश्यकता रहेको औँल्याउनु भयो ।
स्वास्थ्य कार्यालय चितवनले पनि ओमिक्रोन भाइरस र यसको रोकथामको लागि सचेतना र अन्य तयारी चाडै नै थालिने बताएको छ । कार्यालयका प्रमुख दीपक तिवारीले चितवन पनि ओमिक्रोन भाइरसको उच्च जोखिममा रहेकोले सरोकारवाला निकायसँग चाडै नै छलफल गरी सचेतनामा जोड दिने बताउनु भयो । ‘हामी स्थानीय प्रशासन, सरकार, डिसीएमसी सँग बसेर यस विषयमा चाडै नै छलफल गछौं ।’ तिवारीले भन्नुभयो । ओमिक्रोन भाइरसको तत्काल प्रभाव नदेखिए पनि अहिल्यै नै सचेतना र रोकथामका कार्यक्रम ल्याउनु पर्ने उहाँले बताउनुभयो । ‘ ओमिक्रोन भेटिएका व्यक्तिको स्वास्थ्य अवस्था त सामान्य नै देखिएको छ , उहाँले भन्नुभयो, आत्तिइहाल्नुपर्ने अवस्था त छैन । तर सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।
चितवनमा अधिकांशले कोभिड विरुद्धको भ्याक्सिन लगाइसकेको र नलगाएका व्यत्तिहरुलाई पनि लगाउन आग्रह गरिएको भन्दै यो नयाँ भाइरसलाई सामान्य रूपमा लिन नहुने उहाँले बताउनु भयो ।
‘नयाँ भाइरस भेटिएपछि हामीले शङ्कास्पद टेष्ट पनि गर्न शुरु गरेका छौँ, उहाँले भन्नुभयो, हालसम्म ओमिक्रोन भाइरस भेटिएको छैन ।’
चितवनमा अधिकांशले भ्याक्सिन लगाइसकेको र अब भ्याक्सिन लगाउन छुटेका र १२ वर्ष भन्दा माथिका विद्यार्थीलाई छिट्टै नै लगाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ती उमेर समूहका विद्यार्थीका लागि भ्याक्सिन आउने क्रममा रहेकोले उनीहरूका लागि विद्यालयमा नै भ्याक्सिन दिने व्यवस्था मिलाउन लागिएको उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्