७ महिना अघि हाउस वायरिङ गरेको, विद्युत् आउने अत्तोपत्तो छैन

बैतडी । बैतडीको सिगास गाउँपालिका वडा न.१ का स्थानीय बासिन्दाहरूले हाउस वायरिङ गरेको करिब ७ महिना पुरा भयो ।
३ सय घरधुरी रहेको यस वडामा २ वर्ष अघि विद्युत् विस्तारको काम सुरु भएको थियो । उतिबेला छिट्टै बिजुली बल्छ भनेपछि स्थानीयवासीले विद्युत् सामग्री ल्याएर वायरिङ गरे पनि विद्युत् आउने अझै अत्तोपत्तो नभएको स्थानीय राम बहादुर महराले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘हाम्रो वडा जयपृथ्वी राजमार्ग सँगै जोडिएको छ । छिमेकी सुर्नया गाउँपालिका र पाटन नगरपालिकामा बिजुली छ । तर हाम्रो वडामा विद्युत् छैन । तार र पोलहरू केही ठाउँमा जडान गरिएका छन् भने धेरैजसो तार र पोल अलपत्र छाडिएका छन् ।’
सिगास १ मा बिजुली नआउँदा समस्यामा परेको स्थानीय राज बहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिजुली आउँदै छ भनेर हामीले घरमा भएका सोलार समेत हटायौँ । केही मर्मत गर्नुपर्ने सोलार मर्मत नगरी छाड्दा त्यसै बिग्रिए । र अहिले मट्टितेलबाट टुकी र सल्लाको दियो बालेर रात कटाउन थालेका छौँ ।’
गाउँमा विद्युत् नहुँदा विद्युतीय उपकरण चलाउन नसकिएको अर्का स्थानीय महावीर विकले बताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रै छिमेकी गाउँ र बजारमा झिलिमिली छ । उनीहरू मज्जाले टिभी, कम्प्युटर जस्ता सबै विद्युतीय उपकरण चलाउँछन् । तर हामीलाई मोबाइल चार्ज गर्न समेत गाडी चढेर अन्यत्रै जानुपर्ने बाध्यता छ । घर नजिक गाडिएका पोलहरू र जडान गरिएको तार अहिले लथालिङ्ग भएको छ भने, ट्रान्सफर्मर ल्याएर प्रयोग विहीन भएको छ ।’

गाउँमा विद्युत् आउँछ भनेपछि केही स्थानीयवासीले वायरिङ गर्नुका साथै मिटरबक्स समेत किनेर ल्याइसकेका छन् । स्थानीय वीर बहादुर चन्दले भन्नुभयो, ‘घर र पसलका लागि २ वटा मिटरबक्स खरिद गरेर ल्याएको छु । मिटर बक्स किनेकै दिन देखिको न्यूनतम महसुल समेत तिर्नुपर्ने हुन्छ । तर बिजुली अझै बलेको छैन । कहिले बल्छ त्यो पनि केही थाहा छैन । हाम्रो यहाँ हरेक कामहरूमा ढिलाइ हुने गरेको छ । विद्युत् प्राधिकरणको हाकिम कुलमान घिसिङ आए राम्रो गर्लान्, हामीले पनि बिजुली बाल्न पाउला भन्ने लागेको थियो । तर हामीलाई केही फाइदा भएन ।’
सिगास गाउँपालिका वडा न. १ मा आगामी २ महिना भित्र विद्युत् बल्ने सम्भावना रहेको वडा अध्यक्ष गगनसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो ‘आवश्यक सामान ल्याइसकेका छौँ । तर बिजुली बल्न बाँकी नै छ । अब विद्युत् प्राधिकरणले जिम्मा लिइसकेपछि जनप्रतिनिधिको भूमिका खासै रहदैन । प्राधिकरणबाटै ढिलाइ भएको हो । अब सम्बन्धित निकायहरूलाई घचघच्याएर विद्युत् विस्तारमा ध्यान दिन्छु ।’
आगामी ६ महिना भित्र सिगास गाउँपालिकाका वडा न. १ देखी ५ सम्म विद्युत सेवा सुचारु गरिसक्ने गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्