नेपाली काँग्रेसको प्रदेश अधिवेशन: बागमती प्रदेशमा पुनः मतदान
काठमाडौँ । नेपाली काँग्रेसको जारी प्रदेश अधिवेशनमा आज बागमती प्रदेशमा पुनः मतदान भएको छ ।
हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले कूल सदर मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेपछि बढी मत प्राप्त गर्ने दुई उम्मेदवारी बिच आज पुनः निर्वाचन भएको हो ।
नेपाली काँग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन कुल सदर मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ ।
आजका निर्वाचनमा इन्द्रबहादुर बानियाँ र जगदीश्वर नरसिंह केसी निर्वाचनको प्रतिस्पर्धामा रहनुभएको छ ।
आज भएको मतदानमा कूल २ हजार १ सय ५२ मत मध्ये २ हजार २५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
बागमती प्रदेशमा आज पुनः भएको मतदान पछि अहिले मतगणना कार्य सुरु भएको बागमती प्रदेश निर्वाचन समितिका संयोजक केशव काफ्लेले जानकारी दिनुभयो ।
सभापतिको आजै अबेर रातीसम्म परिणाम आउने र अन्य पदाधिकारी तथा सदस्यहरूको मतगणना भोलि बिहान ९ बजेबाट सुरु गरिने पनि संयोजक काफ्लेले बताउनुभयो ।
यसैबिच हिजो भएको मतदानमा सुदूर पश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर नेतृत्वको प्यानल विजयी भएको छ भने कर्णाली प्रदेशमा ललितजङ्ग शाही नेतृत्वको समूह विजयी भएको छ ।
यसैगरी गण्डकी प्रदेशमा शुक्रराज शर्मा नेतृत्वको समूह विजयी भएको छ ।
प्रदेश नं. १ र लुम्बिनी प्रदेशको भने अहिले मतगणना जारी रहेको छ ।

निर्वाचन समितिका अनुसार लुम्बिनी प्रदेशमा अमरसिंह पुनको समूहले अग्रता लिइरहेको छ ।
प्रदेश नं. १ मा गुरुराज घिमिरेको समूह अगाडि रहेको हाम्रा विराटनगर सम्वाददाता कुमोद अधिकारीले जानकारी दिनुभयो ।
दुई नं. प्रदेशमा भने प्रदेश निर्वाचनको टुङ्गो लाग्न सकेको छैन ।
सर्लाही बाहेक अन्य सबै जिल्लाको मतदाता नामावली पठाइसकेको भए पनि सर्लाहीको नाम पठाउन नसक्दा त्यहाँको अधिवेशन अन्योलमा परेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।
सचिव श्रेष्ठले २ नं. प्रदेशको निर्वाचन सम्बन्धमा केन्द्रीय नेतृत्वले निकाल्ने समाधानका आधारमा अगाडि बढ्न सकिने पनि बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्