तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सरकारद्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विश्वराम अधिकारी बागमती प्रदेश सरकारले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे लगायत सत्तारूढ गठबन्धन दलका नेताहरूले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । 

प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि सार्वजनिक गरिएको न्यूनतम कार्यक्रममा कोभिड–१९ को महामारीबाट प्रदेशवासी नागरिकको जीवन रक्षा, संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गरिने, सङ्घीयताको कार्यान्वयनका लागि प्रदेश सरकारका माध्यमबाट सशक्त पहल गरी संवैधानिक क्षेत्राधिकार बमोजिम प्रदेशका अधिकारको प्रयोग र स्थानीय तहका अधिकार हस्तान्तरण गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । 

सो अवसरमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई बुझाएकोमा धन्यवाद व्यक्त गर्नु भयो । उहाँले प्रदेश सरकारसँगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको भन्दै प्रदेश सरकारले त्यसको कार्यान्वयनको कामलाई तीव्रताका साथ अघि बढाउने बताउनुभयो । 

न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक युवराज दुलाल, काँग्रेस बागमती प्रदेशकी प्रमुख सचेतक राधा घले, नेकपा एकीकृत समाजवादीको तर्फबाट माधव पौडेल र मिना ज्ञवाली, नेकपा माओवादी केन्द्रको तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गर्नु भएको छ । 

यस्तो छ प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम

प्रतिक्रिया राख्नुहोस्

Back to top button