राजनैतिक स्थायित्वका लागि गठबन्धन सरकार : मन्त्री बडु

धनगढी । कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले मुलुकमा राजनैतिक स्थायित्वका लागि काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार गठन भएको बताउनुभएको छ ।
आज धनगढीमा नेपाली काँग्रेस प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उहाँले काँग्रेसलाई प्रतिपक्षमा बस्न जनमत प्राप्त भए पनि संविधान र लोकतन्त्रको रक्षाका लागि काँग्रेसले सरकारको नेतृत्व गर्नु परेको बताउनु भयो ।
आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत प्राप्त हुने गरी सबै नेता कार्यकर्ताले एकताबद्ध भएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री बडूले मुलुकमा भएका ऐतिहासिक परिवर्तन काँग्रेसकै नेतृत्वमा भएको स्मरण गर्दै संसद् विघटन गरी देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने तत्कालीन नेकपाको प्रयासलाई काँग्रेसले विफल तुल्याएको बताउनुभयो ।

त्यस अघि प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सातै प्रदेशमा एकसाथ भर्चुअलबाट काँग्रेस प्रदेश अधिवेशनको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन समारोहमा काँग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, बर्दी पाण्डे, रमेश लेखक, ईश्वरी न्यौपाने, रामजनम चौधरी, वीरबहादुर बलायर लगायतको सहभागिता रहेको थियो ।
धनगढीमा मङ्सिर १६, १७ र १८ गते सम्म चल्ने प्रदेश अधिवेशनमा प्रतिनिधि समेत गरी करिब १ हजारको सहभागिता रहने र अधिवेशन प्रदेश सभापति सहित ५९ जनाको कार्यसमिति चयन गर्ने नेपाली काँग्रेस प्रदेश अधिवेशन प्रचार(प्रसार उपसमितिका संयोजक नृप सुनारले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्