तपाईँ सुन्दै हुनुहुन्छः

कनकासुन्दरी गाउँपालिकामा आफ्नै एम्बुलेन्स सेवा सञ्चालन

जुम्ला । सिञ्जा क्षेत्रका तीनै स्थानीयतहले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । गाउँ गाउँमा सडक सञ्जालको पहुँच पुगेसँगै स्थानीयतले एम्बुलेन्स सेवा शुरु गरेका हुन् । जसमा,सिञ्जाको कनकासुन्दरी गाउँपालिकाले आइतबारदेखि आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । भने,सिञ्जा क्षेत्रका हिमा र सिञ्जा गाउँपालिकाले यस अघिनै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइसकेका थिए । 

सिञ्जा क्षेत्र हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा विभाजित छ । जुम्लाको सदरमुकाम खलङ्गादेखि पैदल यात्रा गर्दा एक दिनमा सिञ्जा उपत्यका पुगिन्छ । त्यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन् । त्यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिनका लागि खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आउनु पर्ने बाध्यता छ । 

तर विगतमा एम्बुलेन्स नहुँदा समयमै अस्पताल आउन नपाएर सिञ्जा क्षेत्रका धेरैले ज्यान गुमाउन बाध्य भए । स्टेचरमा बिरामी बोक्दाका पिडालाई मध्यनजर गर्दै जिल्लाकै दुर्गममा पर्ने कनकनसुन्दरी गाउँपालिकाले पनि आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको हो । 

कनकासुन्दरीमा बस्ती बस्तीमा सडक पुगिसकेकोले सबै खाले बिरामीलाई सर्वसुलभ सेवा दिने गरी आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरिएको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताउनुभयो । उहाँका अनुसार सुत्केरी आमाहरूका लागि भने एम्बुलेन्स सेवा निःशुल्क गरिने छ । 

कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाका अनुसार राजश्व (कर) छुटसहित १० लाख ८१ हजार लागतमा एम्बुलेन्स पालिकामा पुगेको हो । उहाँले भन्नुभयो,“दुर्गममा समयमै उपचार नपाएर छटपटाउनु पर्ने बाध्यता छ । नागरिकहरूका  पिडामा मलम लगाउन आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गरेको छौ । सबैले राहत महसुस गर्ने छन् ।”

गाउँपालिका रोजगार संयोजक हंशराज न्यौपानेका अनुसार अघिल्ला वर्षदेखि नै पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन खोजे पनि लामो प्रयासपछि राजश्व छुटमा एम्बुलेन्स खरिद गरी नागरिकलाई सेवा दिएको हो । 

उहाँले भन्नुभयो,“पालिकामा एम्बुलेन्स नहुँदा खलङ्गाबाट महँगो खर्चेर एम्बुलेन्स मगाउनु पर्ने बाध्यता थियो । अब आफ्नै एम्बुलेन्स सेवा भएपछि  नागरिकले विगतको त्यस्तो समस्याबाट उन्मुक्ति पाउने भएका छन् ।”

यता हिमा गाउँपालिकाका अध्यक्ष रज बहादुर शाहीले जनप्रतिनिधिलाई स्कारपिओ गाडी खरिद गर्ने भनी छुटाएको बजेटले जनताको सेवाका लागि एम्बुलेन्स खरिद गरी सञ्चालन गरेको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा राजश्व (कर) छुट गरेर १० लाख बजेटमा पालिकाले एम्बुलेन्स खरिद गरेको हो ।

यस्तै सिञ्जा गाउँपालिकाले पनि राजश्व (कर) छुट गरी १० लाखमा एम्बुलेन्स खरिद गरी सेवा दिँदै आएको छ । भने, खलङ्गादेखि टाढा रहेको पातारासी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । यहाँका गुठीचौर, तातोपानी र तिला गाउँपालिका पनि एम्बुलेन्स खरिद गर्ने प्रक्रियामै रहेको बताएका छन् । चाडै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने तयारी भएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button