तपाईँ सुन्दै हुनुहुन्छः

दुई हजार बढीले घरदैलोमै निःशुल्क उपचार पाए

जाजरकोट । कादुरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज् नेपाल पोखरा १६ कास्कीको आयोजनामा जाजरकोटको बारेकोट गाउँपालिकामा सञ्चालन भएको चार दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार तीन सय ५६ जनाले उपचार सेवा लिएका छन् । 
शिविरमा एक हजार पाँच सय २५ जना महिला र आठ सय ३१ जना पुरुष लाभान्वित भएका क्याम्प इन्चार्ज राजन राईले बताउनु भएको छ । 

शिविरमा ४ सय महिलाको स्त्री रोग सम्बन्धी जाँच तथा ३५ जनाको पाठेघरको उपचार, ११ सय १८ जनाको आँखा जाँच तथा ४१ जनाको मोतीबिन्दु शल्यक्रिया, ४ सय ५७ जनाको दाँतको उपचार,अन्यको सामान्य स्वास्थ्य जाँच तथा उपचार निःशुल्क औषधि वितरण गरिएको राईले जनाउनु भयो । 

पाँच वर्ष अघि मोतीबिन्दुको कारण दुवै आँखाको ज्योति गुमाएकी बारेकोट ४ जिरीकी ७० वर्षीया लक्ष्मी सार्की उपचार पछि नयाँ संसार देख्न पाएको बताउनुभयो । तीन वर्ष पहिले आँखाको ज्योति गुमाएकी बारेकोट ७ स्यालाकी ७१ वर्षीया पानसरी पुन गाउँमै आँखाको उपचार गर्न पाउँदा निकै हर्षित हुनु भएको छ । 

कमजोर आर्थिक अवस्थाले आमा पानसरीको उपचार गर्न नसकिएको भन्दै सुजाता पुनले घरआगनमै निःशुल्क उपचार गर्न पाउँदा निकै खुशी लागेको बताउनु भयो । सामान्य उपचारको लागि पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता हुन्थ्यो, गाउँमै उपचारको सेवा पाउँदा राम्रो लागेको पुनको भनाइ छ । 

निःशुल्क शिविरले कमजोर आर्थिक अवस्था भएका बारेकोटबासीलाई ठुलो टेवा पुगेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । बारेकोबासीको लागि शिविर धेरै प्रभावकारी बनेको अध्यक्ष शाहको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button