तपाईँ सुन्दै हुनुहुन्छः

चिसो बढेपछि भेडागोठ तल्लो क्षेत्रमा झरे

हिमालबाट सदरमुकाम सल्लेरी हुँदै तल्लो क्षेत्रमा झार्दै गरेको भेडा गोठ, तस्बिर : सन्तोष राउत ।

सोलुखुम्बु । गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ बिस्तारै जाडो बढेसँगै हिमालतिरबाट तल्लो भेगमा झर्न थालेका छन् । यस वर्ष विना सिजनमा परेको पानी र हिमपातका कारण छिटै जाडो बढेकाले एकैचोटी अधिकांश भेडागोठहरु औल झारिएको भेडा पालक व्यवसायीहरूले बताए ।

सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ तथा राई जातिहरूले पुस्तौँ अघिदेखि अँगाल्दै आएको भेडा पालन व्यवसाय अन्य व्यवसाय  जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले सिजन अनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने सोलुखुम्बुको सल्यान–५ का एक मात्र राई व्यवसायी प्रवेश राईले बताउनुभयो ।

यो पेशा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, परिवार, चाडपर्व केही भन्न पाइन्न, राईले भन्नुभयो । भेडा पालनबाट राम्रै आम्दानी गर्न सकिने भए पनि निकै कठिन भएकाले नै पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको र पेशानै सङ्कटमा पर्दै जान थालेको उहाँको भनाइ छ । अहिले हिमालमा चिसो हुने भएकाले मध्य पहाडी भेगका जङ्गलहरूमा अधिकांश भेडागोठहरु पाइन्छन् ।

हिमालबाट सदरमुकाम सल्लेरी हुँदै तल्लो क्षेत्रमा झार्दै गरेको भेडा गोठ, तस्बिर : सन्तोष राउत ।

मुक्लीका परशुराम गुरुङले चिसो सिजनमा पहाड हुँदै तराईसम्म भेडा गोठ लाने र फेरी गर्मी सिजन शुरु भएपछि क्रमशः फर्काउने बताउनुभयो । भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुँदैन, तापक्रम अनुसार गोठ सार्नु पर्छ, उहाँले भन्नुभयो ।

मुख्यतः पूर्वी पहाडका गुरुङ जातिहरूको पुर्ख्यौली पेशा मानिएको भेडा पालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् । पछिल्लो समयमा सामुदायिक वनको आफ्नै किसिमका नीति नियमका कारण तथा युवा पुस्ताले सो पेशालाई आफ्नो रोजाइमा नपारेपछि व्यवसाय नै धरापमा पर्न लागेको भेडा पालकहरुको भनाइ छ ।

कुनै सामुदायिक वन उपभोक्ता समूहहरूले भेडाको चरण क्षेत्र उपलब्ध नगराउँदा तल्लो क्षेत्रमा समस्या हुने गरेको व्यवसायीहरू बताउँछन् । ‘सिजनअनुसार सबै क्षेत्रमा भेडा डुलाउनु पर्ने भए पनि केही सामुदायिक वनमा चरिचरणमा रोक लगाएपछि चरण क्षेत्रको अभाव हुन थालेको छ’ मुक्लीका खड्गबहादुर गुरुङले गुनासो गर्नुभयो ।’ 

भेडाको ऊनबाट आतिथ्य सत्कारका लागि ओछ्याउने राडी तथा जाडो याममा चिसोबाट बच्न सिरकको रुपमा प्रयोग गरिने पाखी तयार गरिन्छ । यता हिन्दु धर्मवालम्बीहरुका लागि त कतिपय धार्मिक संस्कारमा राडी आवश्यक हुन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button