तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा क्षेत्रिय अधिवेशन आज हुँदै

जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा आज क्षेत्रिय अधिवेशन हुन लागेको छ । यस अघि प्रदेश सभाको ८ वटै निर्वाचन क्षेत्रमा क्षेत्रिय अधिवेशन सहमतिमा नै सम्पन्न भएको थियो ।

प्रतिनिधि सभाको निर्वाचन क्षेत्रका लागि हुन लागेको क्षेत्रिय अधिवेशन पनि सर्वसम्मतिबाट चयनका लागि सबै निर्वाचन क्षेत्रहरूमा नेताहरू परिचालन हुनु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका सहितका क्षेत्र भएको निर्वाचन क्षेत्र नंं ३ बढी चर्चामा रहेको छ । यसै क्षेत्रबाट प्रतिनिधित्व गर्नु हुने नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि केन्द्रीय सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएकाले निर्वाचन क्षेत्र नंं ३ निक्कै चर्चामा रहेको छ । 

धनुषाको नगराईन नगरपालिकाको नगराईन स्थित विद्यालयमा हुन लागेको क्षेत्रिय अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले गर्नु भएको छ । क्षेत्रिय अधिवेशनबाट नै महाधिवेशन प्रतिनिधि छनौट हुने भएकाले यसको विशेष महत्त्व रहेको छ । यस ठाउँबाट निधि आफै केन्द्रीय प्रतिधिमा छनौट हुनु हुनेछ । 

जिल्लाको ४ वटै निर्वाचन क्षेत्रबाट २५ जनाको दरले १ सय जना महाधिवेशन प्रतिनिधि धनुषाबाट आज चयन हुन लागेको छ । महाधिवेशन प्रतिनिधिले नै केन्द्रीय निर्वाचनमा मतदान गर्ने भएकाले यसको विशेष महत्त्व रहेको छ । 

धनुषाको निर्वाचन क्षेत्र नंं ४ पनि चर्चामा रहेको छ । क्षेत्र नंं ४ को निर्वाचन धनुषा जिल्लाको सखुवा महेन्द्रनगरमा हुन थालेको छ । यस ठाउँमा नेपाली काँग्रेसका नेता एवं नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादव महाधिवेशन प्रतिनिधिमा चुनाव लड्न थालेका छन् । यसै गरी निर्वाचन क्षेत्र नंं २ को शहिदनगर नगरपालिकाको तिनकौरीमा क्षेत्रिय अधिवेशन हुन थालेको छ । 

यसै गरी धनुषा निर्वाचन क्षेत्र नंं १ को धनुषाधाममा क्षेत्रिय अधिवेशन हुन थालेको छ । धनुषाधाममा काँग्रेसका नेता एवं पूर्वमन्त्री आनन्दप्रसाद ढुङ्गाना महाधिवेशन प्रतिनिधिको दौडमा रहेका छन् । त्यहाँ पनि सर्वसम्मतिले केन्द्रीय प्रतिनिधि छनौटको प्रयास भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button