डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु : प्रचण्ड

बनेपा। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलान्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाभारत गाउँपालिका कमिटीको शुक्रवार भएको प्रथम गाउँपालिका सम्मेलनलाई फोनमार्फत सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीलाई विस्तार गरी नयाँ क्रान्तिकारी पार्टी बनाउने अभियानमा जुटिरहेको बताउनुभयो ।अध्यक्ष दाहाले महाभारत क्षेत्रको जनताको विकासको चाहना र आकांक्षलाई पूरा गर्ने सवालमा आफू निकै प्रयासरत रहेको पनि उल्लेख गर्नुभयो ।
आफ्नो पहलमा जिल्ला सदरमुकामदेखि गाउँपालिका केन्द्रसम्म जोड्ने पक्की सडक निर्माण गर्नका लागि रू ५० करोड विनियोजन भइसकेकामा त्यसलाई पूर्णता दिन पहल थप गरिने उल्लेख गर्दै उहाँले त्यही बेला पहल खोजिएको विद्युतीकरणको केन्द्रीय प्रसारण लाइनको काम अहिले तीव्र गतिमा अगाडि बढेको र त्यसलाई पनि पूर्णता दिन आफ्नो प्रयास केन्द्रित रहने पनि बताउनुभयो ।
कोखाजोर खोलाको जलविद्युत् आयोजनाका लागि प्रक्रिया अगाडि बढिरहेकाले यसमा आवश्यक सहयोगका लागि र पिन्थलीदेखि घर्तीछाप हुँदै मकवानपुरको फापरबारी जोड्ने सडकलाई राष्ट्रियरुपमा स्तरोन्नतिका लागि सम्बन्धित निकायमा कुरा गरेर अघि बढाइने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
पार्टी पुनः गठनको महाभियान चलाउने र पार्टीलाई नयाँ क्रान्तिकारी पार्टीमा रूपान्तरण गरेर छाड्ने अठोट गरिएकाले देशव्यापीरुपमा सदस्यता नवीकरणदेखि टोल भेला हुँदै वडा, पालिका तथा प्रदेश हुँदै राष्ट्रिय स्तरको सम्मेलन गर्ने अभियानमा आफू जुटिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सङ्घीय सांसद गङ्गाबहादुर तामाङले महाभारतका जनताको मुहार फेर्नको लागि आफूहरू निरन्तर प्रयन्तशिल रहेको जानकारी दिनुभयो ।वाग्मती प्रदेशसभा सदस्य रत्न ढकालले माओवादी केन्द्रले गरेको विकास निर्माणको कामबाट अत्तालिएर डाँडापारिको मुहार फेर्ने काममा भएको सकारात्मकतालाई भ्रमपूर्ण प्रचार गर्दै हिँडेकोमा दुःख व्यक्त गर्नुभयो । हिजोको दिनमा विकट डाँडापारिका जनतालाई अहिले स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारको तर्फबाट गरिएको विकास केन्द्रित योजनालाई पूरा गर्ने सवालमा कसैले भ्रम फैलाउँदैमा त्यसबाट पछि नहट्ने उहाँको भनाइ थियो ।
गाउँपालिका कमिटीको बन्द सत्रले आज नयाँ कमिटी गठन गर्ने जनाइएको छ । अध्यक्ष प्रचण्डले मौसमको खराबीका कारण त्यहाँ पुग्न नसकेपछि काठमाडौँबाटै फोनमार्फत सम्बोधन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्