दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी। प्रवासीको म्याग्देलीको अगुवाइमा मालिका गाउँपालिकामा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ ।धौलागिरि कालिका हाइड्रो लिमिटेडले गैर आवासीय नेपालीको लगानीमा २५ मेगावाट क्षमताको सो आयोजना निर्माण सुरु गरेको हो । हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिकालगायत देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयवासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको लिमिटेडका अध्यक्ष विनोद कुँवरले बताउनुभयो ।
“विदेशमा आर्जेको सीप, पुँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो”, उहाँले भन्नुभयो, “बाध्यताले अवसरको खोजीमा विदेशिए पनि आफ्नो ठाउँको विकासमा लगानी भित्र्याएर जलविद्युत् आयोजना बनाउन लागेका हौँ ।” गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका पूर्व अध्यक्ष र म्याग्दी प्रवासी नेपाली सङ्घका पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहनुभएका कुँवरले यस आयोजनामा एनआरएनदेखि स्थानीयवासीसम्मको लगानी रहेको बताउनुभयो ।
विसं २०७६ मङ्सिरमा तत्कालीन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले शिलान्यास गर्नुभएको सो आयोजना निर्माणको तयारी भइरहेका बेला कोरोना (भाइरस)को महामारी फैलिएपछि निर्माणले गति लिन सकेको थिएन । विसं २०७७ को बाढीपहिरो र दोस्रो लहरको कोरोनाले पनि आयोजनाको निर्माण कार्यमा असर पारेको थियो । आयोजनाका इन्जिनियर प्रकाश शाहीले पहुँच मार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प व्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरिएको जानकारी दिनुभयो ।
“गोज्जामा अडिट नम्बर २ को पोर्टन निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “बाँध र विद्युत्गृह निर्माणको तयारीमा छौँ ।” मालिका गाउँपालिका–७ बिम र धौलागिरि गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने गरी पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । चारवटा अडिटबाट सुरुङ खनिने भएको छ । बाँध र आउटलेटसँगै तोलाबाङमा ६०० मिटर पहुँच मार्ग खनेर त्यहाँबाट पनि दुईतर्फ सुरुङ खन्ने तयारी छ । आयोजनाको दिगोपनका लागि पूर्ण पक्की सुरुङ बनाइनेछ । दुखुबेँसीमा रहने आउटलेटको १०० मिटर हेडमार्फतबाट बालौटेमा निर्माण हुने पावरहाउसमा पानी खसालेर विद्युत् उत्पादन गरिने भएको छ ।
आयोजना नजिकै बिमको डाँडाखेतमा सबस्टेसन निर्माण सुरु भएको छ । सानिमा बैंकको नेतृत्वमा प्रभु, कुमारी, सेञ्चुरी, मुक्तिनाथ, ओभ डेभलपमेन्ट र महालक्ष्मी विकास बैंकका गरी रु तीन अर्ब ५० करोड ऋण लगानी गर्ने सम्झौता पनि भएको छ । आयोजनाबाट असर पर्ने क्षेत्रका बासिन्दालाई पनि लगानीको अवसर दिइने प्रर्वद्धकले बताएका छन् । कूल रु पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने भएको छ । असर पर्ने क्षेत्रका लगानीकर्ता र प्रवद्र्धकबीचको विवादका कारण २०७१ फागुनमा आयोजनाको काम सुरु हुन सकेको थिएन । आगामी तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्