अरब जाने नौजवानलाई रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा : खापुङ
खोटाङ । प्रदेश नम्बर १ को प्रदेश प्रमुख परशुराम खापुङले अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरब जाने नौजवानहरूलाई स्वदेशमै रोक्न सकिने बताउनु भएको छ । शुक्रवार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले अर्गानिक कृषि र प्राक्टिकल शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्न सके नौजवानहरू अरब जान बन्द हुने स्थिति आउने बताउनु भएको हो ।
सुभद्रा मदन फाउण्डेसनको वैकल्पिक शिक्षा अभियान देशको भविष्य, जनताको सुख, शान्ति र समृद्धि मात्र नभएर रोजगारीसँग पनि गाँसिएको प्रदेश प्रमुख खापुङको भनाई थियो । ‘फाउण्डेसनको वैकल्पिक शिक्षाको अभ्यास देशको भविष्य, नेपाली जनताको सुख, शान्ति र समृद्धि मात्र नभएर रोजगारीसँग गाँसिएको छ । यत्ति कुरा नेपालीले सिक्यौँ भने जान्यौँ भने नौजवानहरू अरब जान बन्द हुने स्थिति आउँछ । मलेसिया जानुपर्ने स्थिति बन्द हुन पुग्छ,’ खापुङले भन्नुभयो, ‘ग्लोवलाइजेसनको कारण मान्छे अमेरिका पुग्नु, अष्ट्रेलिया पुग्नु, लण्डन पुग्नु आफ्नो रुचीको विषय हुन सक्छ । तर हामीले प्रयास ग¥यौं भने अहिलेको जस्तो बाध्यात्मक अवस्थाको अन्त्य हुन सक्छ ।’
प्रदेश प्रमुख खापुङले सोल्मामा शुभम् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन र होमस्टे उद्घाटन गर्नुभएको छ । प्रदेश सरकारको सहयोगमा बनाइएको शुभम् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवनमा कस्टम हायरिङ सेन्टर समेत सञ्चालनमा ल्याइएको सुभद्रा मदन फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले बताउनुभयो ।
शुभम् ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन मध्य पहाडी लोकमार्गमा निर्माण गरिएको छ । सोही नजिक पुरानो घरलाई मर्मत गरेर होमस्टे सञ्चालनमा ल्याइएको हो । होमस्टे र टेन्टमा कम्तीमा ५० जना पाहुनालाई बास राख्न सकिने फाउण्डेसनका संस्थापक कृषि विज्ञ मदन राईले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख बवि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्