तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा कांग्रेस : सात प्रदेशक्षेत्रको नेतृत्व चयन

धनुषा । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत धनुषाको आठ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा नेतृत्व चयन भएको छ ।

धनुषाका ७ क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमतिमा नेतृत्व चयन भएको नेपाली कांग्रेस धनुषाका सभापति महेशशङकर गिरीले जानकारी दिनुभयो । चयन भएका नेतृत्वमा क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह र क्षेत्र नम्बर १(ख) मा ऋषि लामा प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो ।

क्षेत्र १ (क) मा सहमतिमै नेतृत्व चयन भए पनि १(ख) मा सहमति नजुटे पछि निर्वाचन प्रक्रियाबाट क्षेत्रीय सभापतिमा लामाले २२५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी मदन यादवले ७५ प्राप्त गर्नुभयो । धनुषा निर्वाचन क्षेत्र नम्बर २(क) मा पनि सहमतिमै नेतृत्व चयन भएको छ । उक्त क्षेत्रमा सुजित साह सभापतिमा निर्वाचित हुनुभयो । क्षेत्र नम्बर २ (ख) मा सहमतिको प्रयास जारी रहेको र सहमति जुट्न नसके मतदान प्रक्रियामा जाने तयारी भएको धनुषा सभापति गिरीले बताउनुभयो ।

धनुषा ३ को दुवै निर्वाचन क्षेत्रमा पनि सहमति मै नेतृत्व चयन भएको छ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३(क) मा छेदी राउत र ३(ख) मा रामचन्द्र पजियार प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि सहमति मै नेतृत्व चयन भएको छ । निर्वाचन क्षेत्र नम्बर ४(क) मा योगनारायण यादव र ४(ख) मा बासुदेव पौडेल प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभयो ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिएसँगै मङ्सिर १२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने तयारी रहेको जिल्ला निर्वाचन सचिवालय प्रमुख रामगुलाम कर्णले जानकारी दिनुभएको छ । धनुषामा चार वटा निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button