तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्चको विवाद समाधानका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई बारको आग्रह

काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सर्वोच्च अदालतमा देखिको समस्याबारे जानकारी गराउँदै निकासका लागि पहल गरिदिन आग्रह गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बार पदाधिकारीहरूले ज्ञापन पत्र बुझाउँदै सर्वोच्च अदालतमा देखिएको वर्तमान समस्याको निकासका लागि सरकार र पार्टीको तर्फबाट समेत पहल गरिदिन कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । 

भेटमा प्रधानमन्त्री देउवाले विषय गम्भीर रहेको बताउँदै गठबन्धनको सरकार भएकाले सरकारमा सहभागी दलका बीच छलफल अघि बढाउने जानकार गराएको बार अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । 

बार पदाधिकारीसहित वरिष्ठ कानुन व्यवसायीहरूले प्रधानमन्त्री देउवासँग सर्वोच्च अदालतमा देखिएको समस्याबारे करिब आधा घण्टा छलफल गरेका थिए ।

यसअघि बारले मङ्सिर ६ गते सभामुख र अन्य राजनीतिक दलहरूका संसदीय दलका नेतालाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोधमा उत्रिएको नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म सर्वोच्च अदालत परिसरमा दिँदै आएको धर्ना र देशव्यापी विरोधका कार्यक्रमहरू जारी राख्ने जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button