प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वोच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित ज्ञापन पत्र बुझाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरूले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी गराउनुभयो ।
उहाँहरूले प्रधानमन्त्रीसँग निकासका लागि पहल गरिदिन आग्रह गर्दै संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले निर्वाह गर्नुपर्ने भूमिका र सर्वोच्च नेतृत्वले देखाउनुपर्ने नैतिकताका सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले बारका पदाधिकारीले राख्नुभएको विषयलाई गम्भीरतापूर्वक लिँदै सो बारेमा आफू अवगत रहेको अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले उक्त विषयमा सत्ता गठबन्धन दलका नेतासँग तत्काल बैठक गरी एक/दुई दिनमा नै निकासको लागि दृष्टिकोण सार्वजनिक गर्ने बताउनुभएको थियो ।
भेटमा बारका केन्द्रीय पदाधिकारी, सर्वोच्च बार एशोसिएशनका पदाधिकारी, बारका पूर्व अध्यक्षहरू, पूर्वमहासचिवहरु, पूर्व महान्यायाधिवक्ता, पूर्वसभामुखलगातय उपस्थिति हुनुहुन्थ्यो । रासस








प्रतिक्रिया राख्नुहोस्