आजदेखि एमालेकाे १०औँ महाधिवेशन

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ ।
एमालेले पर्यटकीय नगरी चितवनमा पहिलो पटक पार्टी महाधिवेशन गर्न लागेको हो । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।
महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ः००बजे गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
आज शुक्रबार मङ्सिर १० गते नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने एमालेको तयारी छ ।
महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुनेछन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेता समेत उद्घाटन कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
महाधिवेशन उद्घाटनको लागि एमालेले नारायणी नदी किनारमा भव्य सजावटसहितको मञ्च बनाएको छ ।
सहभागीलाई लक्षित गरी एमालेले विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण अवलोकनका लागि ठूलाठूला डिजिटल बोर्ड समेत राखेको छ ।
महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट प्रतिनिधि सहभागी हुनेछन् । कतिपय मुलुकका पार्टीले भने कोरोनाको कारणदेखाउँदै भिडियो सन्देशहरु पठाइरहेका छन् ।
महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसङ्गठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र पाँच प्रतिशत मनोनीत (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेतासमेत पर्यवेक्षकका रूपमा सहभागी हुने एमालेले जनाइएको छ ।
कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ दलित प्रतिनिधि रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
एमाले १०औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा जनताका झुपडीदेखि सहरका भव्य पे्रक्षालयसम्म आफ्नो महाधिवेशन गरिसकेको छ । २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठले स्थापना गर्नुभएको पार्टीको मूलधारका रूपमा एमालेले आफूलाई व्याख्या गर्दै आएको छ । २०१० साल माघ १० देखि २० गतेसम्म पाटनको ललितपुर र काठमाडौँमा नेकपाको प्रथम महाधिवेशन भएको थियो । जुन महाधिवेशनले मनमोहन अधिकारीलाई महामन्त्रीमा चुनेको थियो ।
त्यस्तै २०१४ साल जेठ १५ देखि २५ गतेसम्म दरबारमार्गस्थित फोहरा दरबारमा नेकपाको दोस्रो महाधिवेशन भयो । त्यस्तै २०१९ साल वैशाख ४ देखि १५ गतेसम्म तेस्रो, २०४६ भदौ ९ देखि १४ गतेसम्म, सिरहाको विष्णुपुरकट्टी र सर्रे अम्बासमा तत्कालीन मालेको चौथो महाधिवेशन भयो । जुन सम्मेलनबाट मदनकुमार भण्डारी महासचिवका रूपमा उदाउनुभयो । त्यस्तै २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौँमा पाँचौँ, २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगञ्जमा छैटौँ, २०५९ माघ १८ देखि २२ गतेसम्म जनकपुरमा सातौँ, २०६५ फागुन ५ देखि १४ गतेसम्म बुटवलमा आठौँ र २०७१ असार १९ देखि साउन १ गतेसम्म भृकुटीमण्डपमा नवौँ महाधिवेशन भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्