तपाईँ सुन्दै हुनुहुन्छः

२०२६ सम्ममा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्बन्धी प्रस्ताव अनुमोदन

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभाले आगामी सन् २०२६ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ ।

उक्त प्रस्तावलाई अनुमोदनका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेश गरेको थियो । संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोग प्रमुख अमृत राईले जानकारी दिनुभयो ।

नेपालको स्तरोन्नति सम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसङ्घले बुधवार अनुमोदन गरेको हो । बैठकलाई सम्बोधन गर्दै राईले नेपालले आगामी पाँच वर्षभित्र अर्थतन्त्रको संरचनागत परिवर्तनका लागि आफ्ना तर्फबाट सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

नेपालले सन् २०१५ र २०१८ मा पनि स्तरोन्नतिको मापदण्ड पूरा गरेको थियो तर तत्कालीन अवस्थामा भूकम्पका कारणले अर्थतन्त्रले गम्भीर चुनौतीको सामना गर्नुपरेको भन्दै यो प्रस्तावसम्बन्धी कार्यलाई नेपालले पछि सारेको थियो ।

राष्ट्रसङ्घले विभिन्न मापदण्डका आधारमा तयार पार्ने अल्पविकसित देशहरूको सूचीमा नेपाल सन् १९७१ मा सूचीकृत भएको थियो । पचास वर्षपछि नेपालले विश्वमानचित्रमा आफूलाई विकासशील देशको सूचीमा सूचीकृत गर्न सफल हुनु नेपालका लागि एक महत्त्वपूर्ण अवसर हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button