लोपोन्मुख राउटे समुदायको पनि जनगणनामा

सल्यान । कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको पनि जनगणना गरिएको छ ।
विभिन्न स्थानमा फिरन्ते जीवन बिताउँदै आइरहेका राउटे समुदाय अहिले सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ कारागाउँमा बस्दै आइरहेका छन् । सुरुमा जनगणना गराउन नमानेका राउटेहरू पछि भने जनगणना गराउन राजी भएका थिए ।
२०७८ सालको प्रारम्भिक जनगणना गर्दा उनीहरूको सङ्ख्या १ सय ४५ पुगेको छ । पुरुष ६९ जना र महिला ७६ जना गरी जम्मा १ सय ४५ राउटे रहेका छन् भने ४८ घरधुरी रहेको स्थानीय जनगणना अधिकारी धर्मराज ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गणक टोलीले राउटे बस्तीमा दुई दिन लगाएर जनगणना गरेका हुन । पछिल्लो चरणमा मृत्युदर बढेको भन्दै विभिन्न ठाउँमा फिरन्ते जीवन बिताउँदै आएका उनीहरूको जन्मदर र मृत्युदर उत्तिकै मात्रामा रहेको छ ।
स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछन् ।
यो समुदाय दुई महिना अघि मात्रै सल्यानको पश्चिम बनगाड कुपिन्डे नगरपालिका ११ बालुबासँग्रही बाँगीरह हुँदै भेरी किनारदेखि एक सातामै सोही नगरको वडा न १ घाटगाउँमा बसाइ सरेका थिए ।
एक सातायता राउटे पुनः नगरको वडा १ नाम्रा हुँदै अहिले वडा न ३ को काँरागाउँमा बसाई सरेका छन् । सोही क्षेत्रमा बसाइ सरेका राउटेको पनि गणना भएको छ ।
सरकारले भत्ता उपलब्ध गराउँदै आएसँगै उनीहरूको जीवनशैली फेरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्