टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान शुरु
टीकापुर कैलाली । टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियानको शुरुवात गरिएको छ । आज जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुसंग नगरपालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गरेर अभियानको शुरुवात गरिएको नगरपालिका स्वास्थ्य प्रवर्द्धन उपशाखाका संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो ।
टीकापुर नगरपालिकामा हरेक वर्ष ११० देखि ११५ नयाँ टिभीको बिरामी देखा पर्ने गरेको, हरेक वर्ष ५/६ जनाको मृत्यु हुने गरेको बताउँदै संयोजक रावलले यो क्षयरोग मुक्त अभियानले टिभीका रोगीको सङ्ख्या घटाउने बताउनुभयो ।
टीकापुर नगरपालिकाकी उपप्रमुख केशरी रावल विष्टले जुनसुकै रोग लागेका व्यक्तिलाई जबसम्म हामीले स्विकार्दैनौ तबसम्म त्यसको समस्या समाधान नहुने भन्दै उनीहरूलाई पनि सम्मानपूर्वक बाच्ने वातावरण बनाउँदा रोगीहरू बाहिर खुल्ने र उपचार गर्न सजिलो हुने बताउनुभयो । उहाँले अभियान सफल पार्न सबैलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न समेत आग्रह गर्नुभयो । अभिमुखीकरण कार्यक्रम टीकापुर नगरपालिकाको आयोजनामा भएको हो ।








प्रतिक्रिया राख्नुहोस्