तपाईँ सुन्दै हुनुहुन्छः

तिला गाउँपालिकाको सुडिगाउँमा‘एक घर एक धारा’

जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नं ६ स्थित सुडिगाउँमा एक घर एक धारा निर्माण गरिएको छ । जिल्लाकै विकट बस्ती सुडिगाउँमा गैर सरकारी निकाय पेश नेपालको लगानीमा एक घर एक धारा निर्माण गरिएको हो । 

खोलाको दूषित पानी प्रयोग गर्दै आएका स्थानीयले घरघरमा धारा निर्माण भएपछि राहत महसुस गरेका छन् । तिला गाउँपालिका ६ की गोरीकला रावतले जीवनका डेढ दशक पानीकै लागि दुख गरेर बितेको बल्ल घरमै धारा पुगेपछि खुसी लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो,“घण्टौँ हिँडेर खोलाको पानी ल्याउनु पर्ने, गाउँमा एक गाग्री पानीका लागि लडाई गर्नु पर्ने बाध्यताबाट मुक्ति पाइयो । पानीका मुहान तथा धाराको संरक्षण आफै गर्नु पर्छ । भोलि फेरी पानीका दुख फर्किन सक्छन् ।”

अनुकूलन कोषको आर्थिक सहयोग, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारी तथा साझेदारी सहयोग केन्द्र (पेस–नेपाल) जुम्लाले प्रत्येक घरमा खानेपानी धारा जडान गरेको हो । 

कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत खानेपानी धारा जडान गरिएका हुन । प्रत्येक घरधुरीका क र ख वर्गले ७९ दिन काम गरेर खानेपानी आयोजना निर्माण भएको पेस नेपाल जुम्लाका सब–इन्जिनियर हर्कबहादुर रावतले बताउनुभयो । 

उहाँका अनुसार सुडिगाउँका करिब एक सय घरधुरी एकघर एक धारा आयोजनाबाट लाभान्वित भएका छन् । खानेपानी आयोजना निर्माण गरेबापत प्रत्येक घरधुरीका क र ख वर्गका प्रतिघरधुरी ५७ हजार ६ सय ३२ रुपैयाँ पारिश्रमिक समेत प्राप्त गरेका छन् । भने, सुडिगाउँमा शुद्ध खानेपानी पुराउन क्याप्स परियोजनाले करिब ८४ लाख ८५ हजार ५१७ रुपैयाँ लगानी गरेको पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button