तपाईँ सुन्दै हुनुहुन्छः

हत्या गरिएका वृद्धको शव राजविराज ल्याइयो

सप्तरी । छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ ।


धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधवार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात् शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र आज परीक्षण हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

छिन्नमस्ता–६ खुदीबखारीमा रहेको छिन्नमस्ता सडक खण्डको झौखराही नामक फूलबारीमा बुधवार अपराह्न शव फेला परेको थियो । घाँटी रेटिएको अवस्थामा शव फेला परेपछि प्रनाउ काफ्ले नेतृत्वको टोली घटनास्थल पुगेर अनुसन्धान गरेको छ । घटनास्थलमा पुगेको प्रहरी टोलीले धारिलो हतियार प्रहार गरी घाँटी रेटेको देखिएको जनाएको छ । प्रनाउ काफ्लेका अनुसार अहिलेसम्म केही खुलेको छैन ।

हत्या प्रकरणको सूक्ष्म अनुसन्धान भइरहेको जनाउँदै आवश्यक परे प्राविधिकसहितको विज्ञ टोली मगाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button