तपाईँ सुन्दै हुनुहुन्छः

आयात नघट्दा मुद्रा सञ्चितिमा दबाब: अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताउनुभएको छ ।

बुधवार अर्थ मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को प्रथम प्रगति समीक्षा एवम् मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री शर्माले अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । अर्थमन्त्री शर्माले आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति असन्तुष्टि जनाउनुभयो । 

file photo

अर्थमन्त्री शर्माले विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा पुँजीगत खर्च नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताउनु भयो । 

अर्को एक महिनापछि पनि पुँजीगत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुमा अर्थ मन्त्रीले जोड दिनुभयो । 

मन्त्री शर्माले लघुवित्तको ब्याज घटाएर एकल डिजिटमा झार्दै साना किसान तथा लगानीकर्तालाई ऋण उपलब्ध गराउनुपर्ने, तथा डिजिटल कारोबारलाई व्यापक बनाउन आवश्यक भएकोमा पनि जोड दिनुभयो ।

बैठकमा अर्थ सचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले हुण्डीमार्फत् नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुनको कारोबार भएर विप्रेषणमा समेत नकारात्मक असर गरेको बताउनुभयो ।

बैठकमा अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, महालेखा नियन्त्रकको  कार्यालय लगायतले कार्य प्रगति तथा त्रैमासिक समीक्षा प्रस्तुत गरेको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button