आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम: उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रूपान्तरणको आधार सहकारी भएको बताउनुभएको छ ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा बोल्दै उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम बन्नुपर्ने बताउनुभयो ।
सहकारी विश्व अर्थतन्त्रमै मेरुदण्डको रुपमा रहेकाले नेपालमा पनि सहकारीको विकासका लागि ध्यान दिनुपर्ने र समृद्ध राष्ट्र निर्माणका लागि सहकारी मुख्य माध्यम हुनुपर्ने बताउनुभयो ।
सहकारीमा विकृति, विसङ्गति भित्रिएको भन्दै निराकरणका लागि सहकारी अभियान र राज्य चनाखो हुनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिनुभयो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताउनुभयो ।
समाजमा सहकारीले रचनात्मक काम गरेको भए पनि केही बदमासी र खराबीका कारण यो क्षेत्र बदनाम हुन पुगेको ऊर्जा मन्त्री भुसालले बताउनुभयो ।
कृषिमा ६८ प्रतिशत जनता आश्रित भए पनि वर्षेनी २ खर्ब भन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुखद भएको उहाँले बताउनुभयो ।
सहकारीले जलविद्युतमा लगानी गर्दै विद्युतीय चुल्हो प्रयोगमा जोड दिन सके हरेकको घरमा इन्डक्सन चुल्हो प्रयोग गरेर ४२ अर्बको एलपी ग्याँसको आयात रोक्न सकिने ऊर्जा मन्त्री भुसालले उल्लेख गर्नुभयो ।

सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले सहकारीहरूको अनुगमन कार्यलाई प्रभावकारी बनाउन लागिपरेको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले तीन खम्बे अर्थनीतिमा सहकारीलाई अब्बल बनाउन आवश्यक भएको बताउनुभयो ।
महासङ्घका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाले सहकारी मार्फत छरिएको पुँजी एकीकृत गरी राष्ट्र विकासमा लगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीले स्थानीय तहले सहकारीलाई प्राथमिकता दिन नसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्