तपाईँ सुन्दै हुनुहुन्छः

‘अर्थचित्र’ विमोचन

काठमाडौँ । नेपालका आर्थिक पत्रकारहरूको संस्था नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत काठमाडौँमा बुधवार आर्थिक पत्रकार सम्मान तथा पहिलो जर्नल ‘अर्थचित्र’ विमोचन गरेको छ ।

अर्थतन्त्रको पुनरुत्थान विषयमा केन्द्रित जर्नल अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूले संयुक्त रुपमा विमोचन गर्नु भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पत्रकारले उठाएको अनुसन्धानमूलक लेख तथा समाचारले मुलुकको आर्थिक क्षेत्रलाई सही मार्गमा डो¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । 

अर्थ मन्त्री शर्माले आर्थिक पत्रकारले लेखेको लेख तथा रिपोर्टिङले अर्थ क्षेत्रमा नयाँ आयाम थप्ने र आर्थिक क्षेत्रको पुनरुत्थानका लागि सहयोग समेत पुग्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बिस्तारै सुधार भइरहेकाले आगामी दिनमा थप राम्रो नतिजासहित तथ्याङ्क सार्वजनिक हुन सक्ने उल्लेख गर्नु भयो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा डा. शिवराज अधिकारीले पत्रकार समाजको पहरेदारको रुपमा रहेकोले यस क्षेत्रले सरकार र निजी क्षेत्रले अघि सारेका नीतिहरूको उचितरुपमा कार्यान्वयन गर्न गराउन निरन्तर खबरदारी गर्नु पर्नेमा जोड दिनुभयो ।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सरकारको समृद्धिको सपना साकार पार्नका निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने विषयमा सरकारले जोड दिएको बताउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोभिडले गर्दा आर्थिक क्षेत्रमा चुनौती सिर्जना गरेको बताउनु भयो । अध्यक्ष गोल्छाले कोभिडले सबै क्षेत्रमा असर परेकाले सरकारले नीतिगत सुधार मार्फत राहत प्रदान गर्नुपर्नेमा जोड दिनु भयो । 

नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले कोभिड–१९ ले गर्दा थलिएको अर्थतन्त्र निकै गम्भीर बनेको बताए । सरकार निजी क्षेत्रको जस्तो सबल बन्न नसकेको भन्दै उनले सरकारको आर्थिक क्षेत्रका समृद्धिका लागि साझेदारीका साथ अघि बढ्ने बताउनु भयो । 

कार्यक्रममा अग्रज आर्थिक पत्रकार न्यु बिजनेस एजका कार्यकारी सम्पादक केशव गौतमलाई अर्थमन्त्री शर्माले सम्मान समेत गर्नु भएको थियो ।

सम्मानित पत्रकार गौतमले आर्थिक पत्रकारहरूले आर्थिक क्षेत्रमा अझ गहन खोजी गरी रिपोर्टिङ गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा अर्थचित्रका सम्पादक लोकबहादुर चापागाईँले आगामी दिनमा नयाँ पुस्ताका आर्थिक पत्रकारहरूका लागि नाफिज सिकाइको पुल बन्नुपर्ने बताउनु भयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button