नेपाली कांग्रेस इलामको क्षेत्रीय सभापतिमा राई र इदिङ्गो निर्वाचित

इलाम । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत इलामका दुई वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा संस्थापन इतर सभापति निर्वाचित हुनुभएको छ ।
आज बिहान सम्पन्न भएको मतगणना अनुसार क्षेत्र १ को सभापतिमा शमशेर राई र क्षेत्र २ को सभापतिमा डिकेन्द्र इदिङ्गो निर्वाचित हुनुभएको छ ।
राई रोङ गाउँपालिका अध्यक्ष हुनुहुन्छ भने इदिङ्गो माङ्सेबुङ गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।
राईले २ सय ४७ मत ल्याएर विजयी बन्नुभएको हो । राईका निकटतम प्रतिस्पर्धी भीष्म प्रधानले २ सय १४ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र २ को निर्वाचित सभापति इदिङ्गोले ४ सय ३२ मत प्राप्त गर्नुभयो । इदिङ्गोको निकटतम प्रतिस्पर्धी नुतनदेव दुलालले २ सय ९८ मत प्राप्त गर्नुभयो ।
दुवै जना निर्वाचित सभापतिहरू जिल्ला सभापतिका प्रत्यासी भेषराज आर्चाय निकट मानिनुहुन्छ ।
क्षेत्र नम्बर १ को सचिव द्वयमा राजकुमार लिम्बू (सेरेङ) र यामन लामा विजयी हुनुभएको छन् भने सह सचिव द्वयमा प्रज्न्वल भट्टराई र बुद्धराज लिम्बू निर्वाचित हुनुभएको छ ।
क्षेत्र नम्बर २ को सचिव द्वयमा बबिन धनकुमार राई र सुवास घिमिरे तथा सहसचिव द्वयमा अम्बिका चौहान र खोम खतिवडा निर्वाचित हुनुभएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा २६ जना र क्षेत्र २ बाट २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
वर्तमान जिल्ला सभापति रहनुभएका जिल्ला सभापतिका प्रत्यासी हिमालय कर्माचार्य, पूर्व सभापति तथा अर्का प्रत्यासी केशव थापा र सभापतिकै प्रत्यासी रहेका भेषराज आचार्य महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।
जिल्ला सभापतिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने प्रावधान छ । इलाम काँग्रेसको जिल्ला नेतृत्वका लागि आगामी १० गते अधिवेशन हुने निश्चित भएको छ ।








प्रतिक्रिया राख्नुहोस्