तपाईँ सुन्दै हुनुहुन्छः

झापामा कर सप्ताहको समापन

भद्रपुर, झापा । झापामा कर सप्ताह सम्पन्न गरिएको छ । यही मङ्सिर १ बिर्तामोडमा विशेष समारोह आयोजना गरी कर दिवस मनाउनुका साथै कर सप्ताहको उद्घाटन गरिएको थियो 

आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजनामा शुरु भएको कर सप्ताह आज भद्रपुरको जिल्ला समन्वय समितिको हलमा कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभ रिजालको अध्यक्षता एवम् झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको प्रमुख आतिथ्यमा कर सप्ताह समापन गरिएको आन्तरिक राजश्व कार्यालय भद्रपुरका जनक बस्नेतले जानकारी दिनुभयो ।

कर सप्ताहभरि झापालगायत इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न स्थानका कर शिक्षा कार्यक्रम तथा उद्योगी–व्यवसायीहरुबीच अन्तरक्रिया गरिएको थियो । 

बस्नेतका अनुसार १ गते कर दिवससँगै कर सप्ताह शुभारम्भ गरियो भने २ गते मेची उद्योग वाणिज्य सङ्घको समन्वयमा मेचीनगरमा करदाता शिक्षा कार्यक्रम गरियो । ३ गते कनकाई उद्योग वाणिज्य सङ्घको समन्वयमा सुरुंगामा कार्यक्रम गरिएको थियो भने ४ गते बुद्धशान्ति उद्योग वाणिज्य सङ्घको समन्वयमा बुधबारेमा कार्यक्रम गरिएको थियो । ६ गते झापा उद्योग वाणिज्य सङ्घको समन्वयमा भद्रपुरमा कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

समापनका अवसरमा वक्ताहरूले करको दरभन्दा दायरा बढाउन सुझाव दिँदै करदाताहरूमा अझै पनि करको बारेमा ज्ञानको अभाव रहेकाले करदाता शिक्षा कार्यक्रम वर्षैभरि समय–समयमा सञ्चालन गर्न कार्यालयलाई सुझाव दिनुभएको थियो ।

कर अधिकृत सुरेश महतोले सञ्चालन गरेको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ का सदस्य कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, बुद्धशान्ति उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपक सापकोटालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यालय प्रमुख रिजालले कार्यक्षेत्र रहेको झापाको माईपूर्व, इलाम, पाँचथर र ताप्लेजुङको समग्र करदाताहरूको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button