तपाईँ सुन्दै हुनुहुन्छः

बाक्लो कुहिरोले विमान सेवा प्रभावित

जनकपुरधाम । यस पटक मङ्सिरको पहिलो सातामा नै बाक्लो कुहिरो लाग्न थालेपछि हवाई उड्डयन प्रभावित हुन थालेको छ ।  

हिजो दिउँसो देखि  बाक्लो कुहिरो लागेर मौसममा खराबी आएपछि चिसो पनि बढ्न थालेको छ । बिहान देखि दिउँसो १२ बजेसम्म बाक्लो कुहिरो लागेका कारणले जनकपुर– काठमाडौँ तथा काठमाडौँ–जनकपुर हवाई सेवा प्रभावित बनेको छ । 

बिहान देखि हुने उड्डयन दिउँसो १ बजे मात्र सफल भएको नेपाल नागरिक उड्डयन  कार्यालय जनकपुरधामले जनाएको छ । विमान अवतरणका  लागि चाहिने भिजिबिलिटी नभएका कारणले दिउँसो १२ बजेपछि मात्र विमानस्थल खुलेको कार्यालयले जनाएको छ । 

बाक्लो हुस्सु सँगैको कुहिरोका कारणले सडक मार्ग भएर सवारी साधन सञ्चालनमा  समस्या भएको सवारी चालकहरूले जनाएका छन् । गत वर्ष यस्तो प्रकारको बाक्लो कुहिरो पुसमा गएर लाग्ने गरेको भएपनि यस पटक मङ्सिरको पहिलो सातामा नै सुरु भएको छ । 

लगातार रुपमा बाक्लो कुहिरो लाग्यो भने तेलहन तथा दलहन बालीमा क्षति पुग्ने अवस्था रहेको पनि कृषि ज्ञान केन्द्र धनुषाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button