तपाईँ सुन्दै हुनुहुन्छः

अतिक्रमणले साँघुरिँदै सडक

जुम्ला । कर्णाली राजमार्गका विभिन्न स्थानमा मनपरीरुपमा घर,टहरा निर्माण गरिँदा र सडक छेउमै अव्यवस्थित रुपमा गिट्टी,बालुवा र ढुंगा लगायतका निर्माण सामाग्री राखिँदा सडक साँघुरिएको छ ।

राजमार्ग अन्तर्गत जुम्लाको रारालिही बजार,त्रिवेणी,कुडारी,लिताकोट,तातोपानी,एैरेनी,लाम्रा,उम्गाड र बसपार्क क्षेत्रमा सडक अतिक्रमण बढेको हो ।

कर्णाली राजमार्ग कालोपत्रे भएसँगै सडक अतिक्रमण पनि ह्वात्तै बढेको स्थानीयहरू बताउँछन् ।
सडक डिभिजन जुम्लाले पटक पटक सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध गरे पनि सडकमा स्थानीयको मनपरी रोकिएको छैन । कर्णाली राजमार्ग कालोपत्रे भएपश्चात् सडक अतिक्रमण गरेरै जुम्ला खण्डमा दर्जनौँ घर टहरा निर्माण भएको स्थानीयहरू बताउँछन् ।
अतिक्रमणले एकातिर सडक साँघुरिँदै गएको त छदै छ, अर्कोतिर दुर्घटनाको जोखिमसमेत बढेको छ ।

जुम्लाको बसपार्क क्षेत्र र तातोपानी पर्यटन क्षेत्रमा सडक अतिक्रमण धेरै छ । तातोपानी २ का स्थानीय रुद्रसिंह मल्लले भने,“सडक व्यवस्थापनभन्दा पनि हरेक व्यक्ति आफ्नो स्वार्थका लागि सामाजिक हित बिर्सेर अघि बढेका छन् । वडा पालिका र सडक डिभिजनसँग समन्वय नगरी राजमार्गलाई असर पर्ने गतिविधि गर्नेलाई कारबाही गरिनु पर्छ ।”

अतिक्रमणका कारण अधिंकास स्थानका सडकमा नाली नै नदेखिने अवस्था छ । अतिक्रमणकै कारण सडक डिभिजनले लगाएको चिन्ह नै देख्न मुश्किल हुने अवस्था छ । सडक फराकिलो तथा सुरक्षित बनाउनका लागि सूचना टाँस गरेर अनुरोध गर्नुभन्दा पनि सडक डिभिजन,प्रहरी प्रशासन अतिक्रमण गर्ने विरुद्ध आक्रामक बन्न स्थानीयको माग छ ।

सडक सुरक्षा अभियान सुरु
यसैबीच सडक डिभिजन जुम्लाले सडक सुरक्षा अभियान थालेको छ । कर्णाली राजमार्गको विभिन्न खण्डमा सडक अतिक्रमण बढ्न थालेपछि “सडक सबैको साँझा सम्पत्ति हो,यसको संरक्षणमा सबै एकजुट भई लागौँ” भन्ने नाराका साथ सडक सुरक्षा अभियान थालिएको हो । सडक संरचनाभित्र स्थानीयले मनपरी रुपमा निर्माण सामाग्री फाल्ने,घर टहरा निर्माण गरेको पाइएकोले खाली गर्न पहिलो चरणमा सूचना टाँस गरिएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सवारी साधन आवतजावतमा बाधा पुग्ने,सार्वजनिक हित विपरीत राखिएका निर्माण सामाग्री हटाउन अनुरोध गरेका छौ । सडक सुरक्षा अभियान चलाएर पहिलो चरणमा मौखिक अनुरोध पनि गरेका छौ । सात दिन भित्र सडकको सीमा खाली नभए प्रक्रियामा जान्छौ ।” पहिलो चरणमा जुम्ला सदरमुकामको बसर्पाक क्षेत्रमा सुरक्षाकर्मी र सडक डिभिजनको अगुवाइमा सडक सुरक्षा अभियान चलाइएको छ ।
सात दिनभित्र सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने र त्यसबाट पर्न जाने क्षति प्रति कार्यालय जबाफदेही नहुने समेत चेतावनी दिइएको छ । साथै संरचना हटाउँदा लाग्ने खर्च समेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धित व्यक्तिबाटै असुल उपरगरीने कार्यालयले जनाएको छ ।

दुर्घटनाको जोखिम बढ्दै
अतिक्रमणले सडक साँघुरिँदै गएपछि दुर्घटनाको जोखिम बढेको छ । बसपार्क क्षेत्र र तातोपानी पर्यटन क्षेत्रमा सडक साँघुरो भएपछि दुर्घटनाको जोखिम बढेको हो । दैनिक सवारी चाप हुने बसपार्क र तातोपानी लगायतका स्थानमा स्थानीयको लापरबाही र सवारी चालकहरूले मनपरी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको तातोपानी पर्यटन विकास केन्द्रका अध्यक्ष नवराज बुढाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“तातोपानी क्षेत्रमा सवारी चाप धेरै छ । पार्किङ व्यवस्थापन हुन सकेको छैन । सार्वजनिक सम्पत्ति संरक्षणमा नागरिक जिम्मेवार छैनन् । त्यसैले सडक सुरक्षा अभियान गाउँ केन्द्रित बनाउनु पर्छ ।”

सडक डिभिजनका प्रमुख राजिव श्रेष्ठ पनि सडक अतिक्रमणका कारण दुर्घटना बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,“सडक सुरक्षा अभियान बजार हुँदै गाउँसम्म पुग्छ । दुर्घटनाको जोखिम हटाउन पनि अतिक्रमण हटाउन आवश्यक छ ।”

सडक अतिक्रमणका कारण कर्णाली राजमार्गमा एक गाडीले अर्को गाडीलाई साइट दिनसमेत समस्या भइरहेको चालकहरू बताउँछन् । सडक साँघुरोहुँदा दुर्घटनाको जोखिम बढेको उहाँहरुको् गुनासो छ । सडक अतिक्रमणलाई रोकी सडक सुरक्षा अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने नागरिक अगुवाहरूको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button