तपाईँ सुन्दै हुनुहुन्छः

दलित समुदायका पत्रकारहरूको क्षमता विकास गराउन आवश्यक

काठमाडौँ । दलित समुदायका पत्रकारहरूले आफूहरूको क्षमता विकास कार्यक्रम ल्याउन माग गरेका छन् । 

नेपाल पत्रकार महासङ्घले काठमाडौँमा गरेको ‘दलित समुदायका पत्रकारको अवस्था र महासङ्घको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला निकायका प्रमुख र पत्रकारहरूले अब आमसञ्चार माध्यमहरूले चार हजार वर्षदेखि उत्पीडनमा रहेको दलित समुदायका कथा व्यथा बाहिर ल्याउनुपर्ने आवश्यकता रहेको औँल्याए । 

उनीहरूले दलित समुदायकै पत्रकारको क्षमता विकास गराउन नसके त्यो समुदायका कथा व्यथा सञ्चार माध्यमसम्म पुर्‍याउने नसकिने भन्दै त्यस्तो माग गरेका हुन् । 

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदाय लामो समयदेखि उत्पीडनमा रहेको भन्दै त्यसको मुक्तिका लागि अक्षरमार्फत अघि बढ्न पत्रकारहरूलाई आग्रह गर्नुभयो ।

अध्यक्ष विश्वकर्माले नेपालमा संविधान र कानूनले जातीय विभेद र छुवाछुतलाई निषेध गरे पनि समाजमा अझै त्यस्तो विभेद व्याप्त भएकोमा दुःख व्यक्त गर्नुभयो । 

उहाँले पछिल्ला वर्षहरूमा दलित समुदायले विभिन्न अधिकारहरू पाए पनि दलितहरूमाथि हुने हिंसा भने बढ्दै गएकोप्रति ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रकी नेतृ अञ्जना विशंखेले दलित पत्रकारका समस्या समाधानका लागि सबै पत्रकारहरू एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो । 
उहाँले पछिल्लो समय राजनीतिक दल, संसद्, सरकार र अन्य विभिन्न निकायमा दलित सहभागिता वृद्धि भए पनि दलित समुदायको मुक्तिको मुद्दा भने त्यसरी उठ्न नसकेको बताउनुभयो  । 

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले दलित समुदायका पत्रकारको क्षमता विकास र उन्नयनका लागि महासङ्घ प्रतिबद्ध भएको बताउनुभयो । उहाँले महासङ्घले पत्रकार र सञ्चार माध्यममा समावेशिता र सहभागिताको कुरा मात्रै नउठाउने भन्दै समाजमा जकडिएर रहेको जातीय विभेद र छुवाछुतको अन्त्यकै लागि विशेष पहल लिन सक्ने बताउनुभयो । 

महासङ्घका पूर्वकेन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले अझै पनि सञ्चार गृहमा दलित पत्रकारको समानुपातिक सहभागिता हुन नसकेको बताउनुभयो । ‘पत्रकारको नाम सुन्ने बित्तिकै ऊमाथि गर्ने व्यवहार फरक पर्छ, पत्रकारले पनि विभेद खेपिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘मूलधारका सञ्चार माध्यमले नै दलित समुदायका पत्रकारलाई स्थान दिएका छैनन् । त्यो समुदायको मुद्दालाई कति लेख्छन् ? हामीले देखेकै छौँ ।’ 

‘पत्रकार दलित हुँदैन भनिन्छ । तर, यथार्थ अलग छ । दलित समुदायका पत्रकारले गरिबी झेल्नुपर्छ । काठमाडौँमा कोठा समेत पाउँदैनन्, जातीय हिंसाको शिकार हुनुपरेको छ,’ उहाँले भन्नुभयो, ‘यत्तिका अवरोधका बिच पनि दलित समुदायका पत्रकारको सङ्ख्या बढ्दो छ, अब उनीहरूको क्षमता विकासमा जोड दिनु जरुरी छ ।’

कार्यक्रममा बोल्दै पत्रकार बाबुराम विश्वकर्माले पत्रकारितामा पनि राज्यसत्ताको धङ्धङ्गी रहेको बताउनुभयो । उहाँले दलित समुदायको मुद्दालाई आमसञ्चार माध्यमले सार्वजनिक बहसको मुद्दा बनाउन नचाहने गरेको जिकिर गर्नुभयो । 

लेखक तथा अध्येता जेबी विश्वकर्माले दलित समुदायकाले सञ्चार माध्यमभित्रै विभेद खेपिरहेकामा जोड दिनुभयो । 

‘मिडियामा दलितमाथिको संरचनागत विभेदको कायम छ । दलितमाथिको अत्याचारका घटनामा मिडियाको भूमिका कमजोर छ,’ उहाँले भन्नुभयो । 

महासङ्घका केन्द्रीय सदस्य प्रकाश धौलाकोटीले महासङ्घले दलित समुदायका पत्रकारहरूको चौतर्फी विकास र सहभागितालाई ध्यानमा राखेर काम गर्ने बताउनुभयो । 

कार्यक्रममा दलित समुदायका पत्रकारहरूको अधिकारको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरू र दलित समुदायका सक्रिय पत्रकारहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button