शिक्षालाई प्रविधिमैत्री बनाउन मन्त्री पौडेलेको आग्रह
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आजको युग सुहाउँदो विकासमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
खुमलटारस्थित नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को कार्यालय निरीक्षण गर्दै सहकुलपति समेत रहनुभएका मन्त्री पौडेलले जनतालाई प्रविधिसँग जोड्ने दायित्व राज्यको भएकाले दूर दराजमा पनि प्रविधिको पहुँच पुर्याउनुपर्ने बताउनुभएको हो ।
उहाँले बजेटको अभाव, कर्मचारी व्यवस्थापन, कर्मचारीको वृत्ति विकासका समस्यामा आफू जानकार रहेको बताउँदै समस्या हल गर्ने उपायसहित मन्त्रालयमा आउन निर्देशन दिनुभयो ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले विज्ञान र प्रविधिबिना देश समृद्ध नहुने बताउनुभयो । उहाँले नास्ट काठमाडौँमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा पनि लैजानुपर्नेमा जोड दिनुभयो ।
नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले सात वटै प्रदेशमा नास्टको कार्यालय स्थापनाको तयारी गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्