तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी कमिटी भोलि सम्मका लागि स्थगित

काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशन तयारीका लागि आज बस्ने भनिएको स्थायी कमिटीको बैठक भोलि बिहान ११:०० बजे सम्मको लागि स्थगित भएको छ । 

एमालेले आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा पाँच प्रतिशत मनोनीत प्रतिनिधि लगायतका विषयमा छलफल गर्न लागि पार्टीको स्थायी कमिटीको बैठक आज अपराह्न ३ः०० बजेका लागि बैठक बोलाएको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार स्थायी कमिटी बैठक भोलि बिहान ११:०० बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने छ । भोलि बिहान बस्ने बैठकमा आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, समीक्षा र  महाधिवेशनमा पाँच प्रतिशत मनोनीत प्रतिनिधिको बारेमा छलफल हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । 

महाधिवेशनमा पदेन र निर्वाचित गरी एक हजार ९९९ प्रतिनिधिको पाँच प्रतिशतसम्म मनोनीत गर्ने एमालेको विधानमा व्यवस्था गरिएको छ  ।

महाधिवेशन तयारीका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा मूल व्यवस्थापन र अन्य नेताको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।

एमालेको चालु केन्द्रीय कमिटीको बैठक महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन बस्ने तयारी छ । 

नयाँ नेतृत्व चयनका लागि यही मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button