चुरेको दोहन रोक्न व्यवस्थित नदी प्रणालीको विकास आवश्यक : राष्ट्रपति भण्डारी

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरेको दोहन नियन्त्रणका लागि सरकारसँगै सबै क्षेत्र मिलेर काम गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
महोत्तरीको मटिहानीमा निर्माण भएको रङ्गशालाको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले चुरेको दोहनका कारणले वर्षेनी कृषि योग्य भूमि मरुभूमिकरण हुनुसँगै बाढी आएर कृषि क्षेत्रमा ठूलो क्षति गर्ने भएकाले यसतर्फ सबैको ध्यान पुग्नु जरुरी रहेको बताउनुभयो ।

मटिहानीमा रङ्गशालाको स्थापनाले त्यस क्षेत्रमा खेलकुदको विकासमा मद्दत पुग्नुसँगै खेलले अनुशासित नागरिकको निर्माण गर्ने भएकाले असल समाजमा निर्माणमा यसबाट बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
जनताको विकासको तीव्र आकाङ्क्षा पुरा गर्न जनप्रतिनिधिहरू सक्रियता पूर्वक लागेकोमा खुसी व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले मटिहानी नगरपालिकाले रङ्गशालाको निर्माण गरेर युवा तथा जनताको आकाङ्क्षाको सम्बोधन गर्ने काम गरेको बताउनुभयो ।
जनकको ज्ञानले सिञ्चित रहेको त्यस भूमिमा अष्टावक्र, गाग्री, मैत्री जस्ता ऋषि मुनिहरूको तपो भूमि रहेको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले त्यस क्षेत्रको समग्र विकासका लागि तीनै तहका सरकारहरू गम्भीर हुनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले प्रदेश नंं २ को सरकारले सञ्चालन गरेको बेटी पढाऊँ, बेटी बचाऊँ तथा छोरी शिक्षा विमा कार्यक्रमको सराहना गर्नुहुँदै सङ्घीय सरकारले यो कार्यक्रम देश व्यापी रुपमा सञ्चालन गर्नुपर्ने विषयमा आफूले सुझाव दिएको पनि बताउनुभयो ।
कार्यक्रममा प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले महिला सहभागिता विना प्रदेशको विकास सम्भव नहुने ठम्याई राख्दै बेटी पढाऊ, बेटी बचाऊँ, छोरी शिक्षा वीमा जस्ता कार्यक्रमहरू अगाडि बढाइरहेको बताउनुभयो ।
मुख्यमन्त्री राउतले तीनै तहका सरकार मिलेर देशको समृद्धि र विकासमा कामकाज गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कृषिको आधार भूमिको रुपमा रहेको प्रदेश २ को समृद्धि र विकासका लागि सिँचाइसँगै कृषिमा यान्त्रिकीकरणतर्फ जोड दिन जरुरी रहेको बताउनुभयो ।
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको रङ्गशाला उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले रङ्गशालाको निर्माणमा महत्त्वपूर्ण योगदान दिनुहुने इन्जिनियर विमलेश साह, विनोद मण्डल र नरेश महतोलाई कदर पत्र प्रदान गरी सम्मानित पनि गर्नुभयो ।

१ करोड ३० लाखको लागतमा करिब डेढ बिगाहा क्षेत्रफलमा मटिहानीमा रङ्गशालाका निर्माण भएको हो ।
आजै राष्ट्रपति भण्डारी मटिहानीको लक्ष्मीनारायण मठमा पुगी पूजा अर्चना गर्नुका साथै ३ सय वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीलाई लक्ष्मीनारायण मठमा मानमहन्थ जगन्नाथ दासले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्राचीन जलेश्वरनाथ मन्दिरमा पुगेर पूजा अर्चना पनि गर्नुभएको थियो ।









प्रतिक्रिया राख्नुहोस्