गण्डकीबाट एमाले पदाधिकारीमा ४ जनाको आकाङ्क्षी

कास्की । नेकपा एमालेको १० औँ महाधिवेशनमा गण्डकी प्रदेशका नेताहरूले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
नवौँ अधिवेशनबाटै सचिव निर्वाचित भएका गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङले उपाध्यक्ष वा महासचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । उहाँले भन्नुभयो ‘सचिवहरूमध्ये सफल मै हुँ ,’ अध्यक्षमा केपी शर्मा ओलीलाई सहयोग गर्ने गरी म उम्मेदवारी दिने तयारी गरेको छु ।
आफूले किन यो पदमा उम्मेदवारी दिने मनसाय बनाएको भन्ने विषयमा गुरुङ भन्नु हुन्छ “ पार्टी नेतृत्वलाई व्यवस्थित गर्ने, व्यावहारिक, वैचारिक, भावनात्मक, सङ्गठनात्मक रूपले एकताबद्ध पार्टी बनाउन आजको आवश्यकता रहेकाले उम्मेदवारी दिनु परेको बताउनु भयो । गुरुङ गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री हुनुहुन्छ ।
नवौँ महाधिवेशनमा उपाध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका गण्डकी प्रदेश कमिटी संयोजक किरण गुरुङले फेरि सोही पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । ‘सहमति भयो भने ठिकै छ, नभए उपाध्यक्षमा निर्वाचन लड्न आफु तयार रहेको उहाँले बताउनु भयो । गुरुङ यस अघि गण्डकी प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री भएर काम समेत गर्नु भएको थियो ।
गण्डकीका अर्का नेता पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले सचिव बन्ने आकाङ्क्षा राख्नु भएको छ । नवौँ महाधिवेशनमा अधिकारी केन्द्रीय सदस्यमा झिनो मतान्तरले मात्रै पराजित हुनुभएको थियो । सचिवमै पूर्व मन्त्री पद्मा अर्यालको पनि चर्चा चलेको छ ।








प्रतिक्रिया राख्नुहोस्