तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालत : १२ इजलासमा रिट निवेदन र मुद्दाको पेसी तोकियो

File photo

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आज पनि आफू बाहेकको १२ इजलासमा रिट निवेदन र मुद्दाको पेसी तोक्नुभएको छ । 

सर्वोच्च अदालतका न्यायाधशिहरुले प्रधानन्यायाधीशसँग बेन्च सेयर नगर्ने र प्रधानन्यायाधीश रहने इजलासमा समेत नराख्न आग्रह गरेपछि प्रधानन्यायाधीश जबराले सोही अनुसार १२ वटा इजलासमा रिट निवेदन र मुद्दाको पेसी तोक्नुभएको हो । 

प्रधानन्यायाधीश जबराले केही दिनदेखि आफू बाहेकको इजलास गठन गर्दै आउनुभएको छ ।

आजका लागि गठन गरिएका ११ संयुक्त र एउटा एकल इजलाससहित १२ वटा इजलासमा ४ सय ५४ वटा रिट निवेदन र मुद्दाको पेशी तोकिएको छ । 

लामो समयसम्म इजलासमा बस्न इन्कार गर्दै आएका असन्तुष्ट न्यायाधीशहरू तत्काललाई गोला प्रथाबाट पेशी तोक्ने गरी नियमावली संशोधन भएपछि इजलास फर्कनुभएको छ । 

गत बुधवार सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरे पनि सो व्यवस्था राजपत्रमा प्रकाशन नभएका कारण गोला प्रथा सुरु हुन सकेको छैन । 

न्यायिक गरिमा कायम राख्न नसकेको भन्दै सर्वोच्चकै न्यायाधीशहरू प्रधानन्यायाधीश जबरासँग असन्तुष्ट छन् । 

यसैबिच, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज पनि धर्ना र विरोधको कार्यक्रमलाई जारी राखेको छ । 

आज पनि सर्वोच्च परिसरमा बिहान २ घण्टा धर्ना दिएको बारले प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउन माग गर्दै आज राजनीतिक दलका नेताहरूलाई ध्यानाकर्षण गराउने कार्यक्रम राखेको छ । 

सरकारमा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै नेपाल बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर गत कात्तिक १४ गतेदेखि विरोध प्रदर्शन गर्दै आएको छ ।

विरोध कार्यक्रमअन्तर्गत आइतबार कानुन व्यवसायीहरूले सबै अदालतहरूमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी रोकेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button