अतिक्रमणको चपेटामा पोखराको फिर्के खोला

कास्की । पोखरामा रहेको फिर्के खोला अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणले गर्दा मानव बस्ती समेत जोखिममा पर्न थालेका छन् । पोखरा र यस वरपरको भ्रमणमा आउने पर्यटकको बसाई अवधि लम्ब्याउन अगाडि सारिएको फिर्के कोरिडोरको अवधारणालाई स्थानीय सरकारले कार्यान्वयनमा चासो नदिँदा खोला अतिक्रमण तीव्र रुपमा भएको छ ।
पोखरा महानगरले आर्थिक बर्ष २०७५र०७६ मा प्रस्तुत गरेको बजेटमा समेटिएका १२ वटा महत्त्वपूर्ण योजना मध्ये फिर्के कोरिडोर विकासको विषय समेत संलग्न गरिएको थियो । मानवीय अतिक्रमण र प्रदूषणको चपेटामा परेको फिर्के खोला क्षेत्रलाई सफा राखी हरियाली सहितको पैदल र साइकल मार्ग निर्माणको अवधारणा बजेटमा समावेश गरिएको थियो ।
२०७४ सालको अन्त्यतिर पोखरा महानगरपालिकाले फिर्के खोला र यसको मापदण्ड सम्बन्धी रेखाङ्कन गरी खोलाको दीर्घकालीन समस्याको समाधान गर्ने योजना अगाडि बढाएको थियो । फिर्के खोलाको मापदण्ड विवादास्पद रहेको छ । कुनै बेला १० मिटर कायम गरिएको भए पनि पाँच मिटर भित्रका संरचनालाई रेजा लगाएर छाडिएको प्रति सामाजिक अगुवाहरूले तीव्र असन्तुष्ट जनाएका थिए ।
त्यसअघि २०६० सालमा भने फिर्केको मापदण्ड खोलाको जग्गा छाडेर ६ मिटर कायम गरिएको थियो । सरकारी कार्यालय, मठमन्दिर र सामाजिक सङ्घसंस्थाले समेत फिर्के मिच्दै आएको पोखराका नागरिक समाजका अगुवा राम बहादुर पौडेल बताउनुभयो । पौडेलका अनुसार महानगरपालिकाको लाचारीपनका कारण दैनिक रुपमा फिर्के खोलोको अतिक्रमण देख्दा देख्दै पनि मुखदर्शक हुनु सामाजिक विभेद रहेको बताउनुभयो । कोरिडोर विकासको त कुरै छाडौँ, अवैध संरचना सूचना प्रकाशित गरी हटाउने महानगरले बताएको भए पनि ठोस कार्य अगाडि नबढाउँदा हामीले ज्ञापन पत्र समेत बुझाएर महानगरको ध्यानाकर्षण गराएका छौ ।”








प्रतिक्रिया राख्नुहोस्