तपाईँ सुन्दै हुनुहुन्छः

ऐन, कानून र नियमावलीहरू समय सापेक्ष बन्नुपर्ने : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधान अनुसार ऐन, कानुन र नियमावलीहरू समय सापेक्ष बनाउनुपर्ने जोड दिनुभएको छ । 

प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखाको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले सरकारी सञ्चार माध्यमहरू पूर्वाग्रही बन्न नहुने भन्दै सही सूचना प्रवाह गर्न भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले रेडियो नेपालको प्रसारण पहुँचमा वृद्धि, गुणस्तरीय विषयवस्तु प्रसारण र मर्यादित पत्रकारिताको विकास गर्न रेडियो नेपालले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । 

मन्त्री श्रेष्ठले सरकारलाई समयै काम गर्न झकझकाउने र गलत काम हुन नदिन सचेत गराउन माध्यम नै सञ्चार जगत भएकाले यसले आफ्नो दायित्व र भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो । 

प्रेस सेन्टर नेपाल केन्द्रिय कार्यालय सदस्य बलराम थापाले रेडियो नेपालको समग्र पक्षको सुधार आवश्यक रहेको औँल्याउँदै यसबाट प्रसारण हुने विषयवस्तु र गुणस्तर वृद्धि गर्नु पर्ने बताउनुभयो । 

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले हाल ८९ प्रतिशत जनसङ्ख्यामा पहुँच पुगेको रेडियो नेपालको प्रसारण निकट भविष्यमा नै शतप्रतिशत पुर्‍याउने गरी काम भइरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा प्रेस सेन्टर नेपालका प्रतिष्ठान प्रदेशका इन्चार्ज विदुर खड्का, केन्द्रीय कार्यालय सदस्य लक्ष्मी पुन, नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय सदस्य तिलकजङ्ग बुढाथोकी, प्रेस सेन्टर नेपालका प्रदेश प्रतिष्ठानका संयोजक वीरेन्द्र ओलीलगायत विभिन्न सङ्घ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिहरू र रेडियो नेपालका महाशाखा प्रमुख, शाखा प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सेन्टरको दोस्रो अधिवेशनले अर्जुन श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

कार्यसमितिमा उपाध्यक्ष रमिता यादव, सचिव कृष्णा झा, कोषाध्यक्ष विद्या चौधरी र सदस्यहरूमा गोपाल नेपाल, पेम्बा शेर्पा र विजय यादवलाई सर्वसम्मत चयन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button