तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति क्षेत्रमा आज योग शिविर

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आध्यात्मिक एवं योग पर्यटनका रुपमा नेपाललाई विश्वसामु परिचित गराउनका लागि ब्राण्ड एम्बासिडर (सद्भावना दूत)को भूमिका लागि भारतीय योग गुरु स्वामी रामदेवलाई आग्रह गर्नुभएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषले आज पशुपति क्षेत्रमा आयोजना गरेको योग शिविरमा मन्त्री आलेले योग गुरु स्वामी रामदेवलाई नेपाल सरकारका तर्फबाट अनुरोध पत्र प्रदान गर्दै ब्राण्ड एम्बासिडरको भूमिकाका लागि आग्रह गर्नुभएको हो ।

मन्त्री आलेले नेपालमा रहेको अमूल्य जडीबुटीबाट नेपालमै औषधि उत्पादन र प्रशोधनको व्यवस्थाका लागि योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्णसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्री आलेले कोरोनाका कारण नेपाल र भारतबीच हवाई उडानमा भारतले लगाएको एयर बबल हटेसँगै पर्यटन प्रवर्धनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोरोनाका कारण नेपाल र भारत बीचको हवाई उडानमा लागु भएको भारत र नेपालका नागरिकले मात्र यात्रा गर्न पाउने एयर बबल हटाइएको र दुई देशबीच हवाई उडान थप गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।

स्वामी रामदेवले नेपालको आर्थिक एवम् सामाजिक समृद्धि र पर्यटन प्रवर्धनका लागि भारतीय नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्ने बताउनुभयो ।

स्वामी रामदेवले नेपालको प्रकृति र संस्कृति विश्वका लागि अनुपम रहेको उल्लेख गर्नुभयो ।

आचार्य बालकृष्णले नेपालको संस्कृति, परम्परा र मूल्यमान्यतालाई स्थापित गरी सबैलाई स्वस्थ र समृद्ध बनाउन सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आचार्य बालकृष्णले नेपाल भगावा गौतम बुद्ध र जनक भूमि भएकाले यो गर्वको विषयलाई विश्वसामु परिचित गराउन र योग आयुर्वेदको केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभयो ।

चार दिने नेपाल भ्रमण पुरा गरी स्वामी रामदेव र आचार्य बालकृष्ण आज भारतको हरिद्वार फर्कनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button