भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा: मन्त्री श्रेष्ठ
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले भू उपयोग नियमावली निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।
आज उग्रचण्डी नाला समाजको चौथो साधारण सभाको उद्घाटन समारोहमा उहाँले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री श्रेष्ठले भू–उपयोग नीतिअनुसार कृषियोग्य जमिन र किसानहरूको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यावसायिकीकरण, औद्योगीकरण र विविधीकरण गर्ने नीतिअनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको पनि जानकारी गराउनुभयो ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूले पहल सुरु गरिसकेको जनाउँदै उहाँले राष्ट्रिय सार्वभौमसत्ता र विकास अविभाज्य हुने हुँदा विकास निर्माणका काममा तेरो मेरो नभनी एक भएर लाग्न सबैलाई आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, सांस्कृतिक सम्पदाले महत्त्वपूर्ण हुँदाहुँदै पनि प्रचार–प्रसार र संरक्षणको अभावमा अगाडि आउन नसकेको धारणा राख्नुभयो ।
रासस








प्रतिक्रिया राख्नुहोस्