आईसिपी भन्सारद्वारा ४ महिनामा ७० अर्ब बढी राजश्व असुली
बीरगंज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित बीरगंज आईसिपी भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/७९ को ४ महिनामा ७० अर्ब १२ करोड १४ लाख ६७ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
भन्सार विभागले तोकेको लक्ष्य भन्दा पनि ८ प्रतिशत बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो ।
कोरोना संक्रमण नियन्त्रणमा आएसँगै आयात निर्यात बढेपछि बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा पनि राजस्व असुली भएको प्रमुख भन्सार प्रशासक अर्यालले बताउनुभयो ।

बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजस्व विभागले ४ महिनामा ६२ अर्ब ११ करोड, ४१ लाख ६५ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको थियो । लक्ष्य भन्दा ५ अर्ब ७ करोड ३ लाख २ हजार बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
कोरोना नियन्त्रणमा आएसँगै चाडपर्वहरू भित्रिएपछि आयात निर्यात व्यापारमा वृद्धि हुँदा वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व असुली गर्न सक्षम भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्