तपाईँ सुन्दै हुनुहुन्छः

सरकारका सकारात्मक कामको प्रचार गरिदिनुस् : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले गरेका सकारात्मक काम कारबाहीको प्रचार गरी जनतालाई सही सूचना प्रवाह गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

जनतालाई सही सूचना दिने र सरकारले गरेका कामको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध सङ्घ, सङ्गठनले जोड दिनुपर्ने उहाँको भनाइ छ । 

प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिको अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले ‘सत्य के हो ? त्यसलाई स्थापित गर्न अनुरोध गर्नुभयो ।
अर्थमन्त्रीले भन्नुभयो, “जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् ।” उहाँले सत्य स्थापित गर्दा त्यहाँ कुन कुन पात्र जोडिन आइपुग्छन्, त्यसतर्फ ध्यान नदिन अनुरोध पनि गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका नेता शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको बताउँदै माओवादी र त्यसको नेतृत्व ‘प्रचण्ड’को आँट र साहसबाट मात्रै मुलुकमा राजनीतिक परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । 

जनयुद्ध र  जनआन्दोलनको प्रक्रियाबाटै नेपाललाई सामन्तवादबाट मुक्त गरेर समावेशी लोकतन्त्र स्थापना भएको स्पष्ट पार्दै उहाँले अहिलेको लोकतन्त्र परम्परागत लोकतन्त्र नभई सुदृढ लोकतन्त्र भएको स्पष्ट पार्नुभयो ।

समावेशी लोकतन्त्र स्थापनाका लागि माओवादीले सञ्चालन गरेको जनयुद्धले नै भूमिका निर्वाह गरेको तथ्य पेस गर्दै उहाँले त्यसलाई भत्काउन खोज्ने क्रमशः किनारामा धकेलिने उल्लेख गर्नुभयो । 

नेता शर्माले माओवादी अध्यक्ष ‘प्रचण्ड’ र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको तथ्यलाई स्थापित गर्ने काममा लाग्न पनि सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । 

मुलुकमा स्थापित भएको परिवर्तनको रक्षाका लागि पनि सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अर्थमन्त्रीको भनाइ थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button