नेपालगञ्ज म्याराथनको उपाधि एपीएफका किरणसिंह बोगटीलाई

नेपालगञ्ज । सातौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन् ।
१३ औँ सागका स्वर्णपदकधारी बोगटीले नेपालगञ्ज म्याराथनको पनि उपाधि जितेका छन् । बोगटीले ४२.१९५ किलोमिटर दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पूरा गरेर नेपालगञ्ज म्याराथन जितेका हुन् ।
गत वर्ष एपीएफकै गोपीचन्द्र पार्कीले नेपालगञ्ज म्याराथन २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरेका थिए ।
बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधि जितेका हुन् । दोस्रो भएका रावलले २ घण्टा ३३ मिनेट २८ मिनेटमा म्याराथन पूरा गरेका छन् ।
सातौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि विजेता बोगटीले एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।
द्वितीय भएका रावतले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने तेस्रो स्थान प्राप्त गरेका आर्मीका सन्तोष विष्टले ३० हजार रुपैयाँ पाए । उनले २ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा सो दुरी पार गरेका थिए ।
हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितेकी छन् । एपीएफकी पुष्पा भण्डारीलाई पछि पार्दै श्रेष्ठले हाफ म्याराथन जितेकी हुन् । सागकी स्वर्णपदकधारी श्रेष्ठले हाफ म्याराथन १ घण्टा १८ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन् ।
एपीएफकी भण्डारीले १ घण्टा १९ मिनेट १८ सेकेन्डमा दौड पूरा गरिन् । हाफ म्याराथन विजेता श्रेष्ठले ५१ हजार पुरस्कार पाएकी छिन् ।
द्वितीय हुन अफल भएकी भण्डारीले २५ हजार रुपैयाँ पाएकी छिन् । तेस्रो भएकी सुर्खेतकी बिन्दु हमालले १५ हजार रुपैयाँ प्राप्त गरिन् । उनले १ घण्टा ३६ मिनेट ३९ सेकेन्डमा सो दुरी पूरा गरेकी थिइन् ।
नेपालगञ्ज म्याराथनको युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज अथकले उद्घाटन गरेका थिए । महानायक राजेश हमाल पनि नेपालगन्ज म्याराथनमा उपस्थित भएका थिए ।
सरकार र तत्कालीन विद्रोही माओवादीबीच ५ मङ्सिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मङ्सिर पहिलो शनिबार क्रियटिभ ह्याण्ड्सले नेपालगञ्ज म्याराथन आयोजना गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्