तपाईँ सुन्दै हुनुहुन्छः

बझाङका जनप्रतिनिधिहरूद्वारा मुख्यमन्त्रीलाई ज्ञापन पत्र

बझाङ । जिल्लालाई विपद् जिल्ला घोषणा गर्न माग गर्दै बझाङका जनप्रतिनिधि तथा राजनीतिक दलहरूले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन् । 

असोज ३१ गतेदेखि कार्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षापछि आएको बाढी तथा पहिरोका कारण ठुलो भौतिक तथा मानवीय क्षति व्यहोर्नुपरेको भन्दै विपद् जिल्ला घोषणा गर्न बझाङका १२ वटै स्थानीय तहका प्रमुख र राजनीतिक दलका प्रतिनिधीहरुले मुख्यमन्त्री भट्टलाई ज्ञापन पत्र बुझाएका हुन् ।

जिल्लालाई संकट ग्रस्त जिल्ला घोषणा गर्न केन्द्र सरकारलाई सिफारिस गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । 

बाढी र पहिरोका कारण खानेपानी, सिँचाइ कुलो, विद्युत् गृह, विद्यालय भवन, स्वास्थ्य चौकी भवन, लगायत अरबौँको भौतिक संरचनामा क्षति पुगेको जिल्ला समन्वय समिति बझाङका प्रमुख खड्क बहादुर खड्काले बताउनुभयो । 

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्लाका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको तथा समस्या समाधानका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको बताउनुभयो ।

मुख्यमन्त्री भट्टले बझाङ जिल्लालाई विपद् ग्रस्त जिल्ला घोषणा गर्ने काम सङ्घीय सरकारले गर्ने र त्यसका लागि प्रदेश सरकारले आग्रह गर्ने उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button