तपाईँ सुन्दै हुनुहुन्छः

सबै नागरिकका लागि ६ करोड खोप आउँदैछः मन्त्री खतिवडा

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्धको खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताउनुभएको छ । 

आज मध्यपुर थिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुई दिने राष्ट्रिय भेलाको उद्घाटन गर्दै उहाँले ६ करोड खोपको सुनिश्चितता सरकारले गरेको बताउनुभयो । 

मन्त्री खतिवडाले करिब एक करोड डोज खोप जनतालाई लगाइसकेको बताउनुहुँदै सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा आउने २० प्रतिशत बाहेक थप खोप ल्याउन सरकारले सम्झौता गरेको जानकारी दिनुभयो । 

तेस्रो डोज खोप बुस्टर लगाउनुपर्ने चर्चा चलिरहेकाले त्यस बारे पनि सरकारले छलफल चलाएको र आवश्यक परे तेस्रो डोजका लागि बुस्टर खोप पनि ल्याइने मन्त्री खतिवडाले बताउनुभयो । 

स्वास्थ्य बिमा भुक्तानीको व्यवस्थापनमा आएको चुनौतीलाई पन्छाउँदै सरकारले बिमाको बाँकी भुक्तानी छिटै गर्ने बताउँदै उहाँले प्रत्येक नागरिकलाई अहिले तिरेको रु. ३५ सय पनि नतिर्ने गरी निःशुल्क स्वास्थ्य बिमा गराउन कति बजेट लाग्छ भनेर अध्ययन भइरहेको बताउनुभयो । 

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङले सरकारमा रहुन्जेल नराम्रो काम नगर्ने प्रतिबद्धताका साथ अगाडि बढेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button