तपाईँ सुन्दै हुनुहुन्छः

गौरती भीमेश्वर मन्दिरमा दर्शनार्थीको भिड

 

सिन्धुपाल्चोक । आजदेखि सुरु भएको सिन्धुपाल्चोक जिल्लाकै सबैभन्दा ठूलो मेलामा हजारौँ दर्शनार्थीको भिड लागेको छ । 

चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल गौरती भीमेश्वर मन्दिरमा दुई दिने मेला लाग्नेछ ।  
मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरू आएका छन् । 

पौराणिक कालमा जङ्गल रहेको सो डाँडोमा गोठालाहरूले खर्क राखी गाई चराउने गर्दथे । गाईले रातको समयमा एउटा ढिस्कोमा दूध चढाउने गरेको गोठालाहरूले देखेपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ति प्रकट भएको किम्बदन्ती रहेको छ । 

सो ठाउँमा दैनिक पूजा गरे भलो हुने बताएपछि सोही समयदेखि पूजाआजा गर्ने गरेको पाइन्छ। ‘गौ’ अर्थात् गाईले राती दूध चढाएको कारण गौरती भएको भन्ने मान्यता छ । 

दर्शनार्थीको सुविधालाई ध्यानमा राखी चौतारादेखि गौरती डाँडासम्म यातायातको व्यवस्था गरिएको छ भने काठमाडौँबाट पनि सिँधै बस तथा माइक्रो बसबाट जान सकिन्छ । 

मेलामा दर्शनार्थीहरुलाई मनोरञ्जन गराउन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतसहित विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

मेलाको उपलक्ष्यमा शुक्रवार चौतारा साँगाचोकगढी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ । 

मेला भर्न आउने भक्तजन बिरामी परेमा नगरपालिकासँग समन्वय गरी प्राथमिक स्वास्थ्योपचारको व्यवस्था मिलाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिनुभयो ।

मेलामा सदरमुकाम चौताराबाट भीमसेनको मूर्तिलाई रथमा तानेर पूर्णिमाको रात गौरती मन्दिरमा रहेको मूर्तिसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ त्यस दिन गुठियारको घरघरमा समेत पूजा गर्ने चलन छ तत्पश्चात् सिन्दुरे जात्रासहित द्वाद्वशीको दिन मेला सम्पन्न गरिने परम्परा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button