लेगुवामा आगलागी हुँदा दुई घर सहित १२ वटा मोटर साइकल जलेर नष्ट
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ५ लेगुवामा आज राती आगलागी हुँदा दुई घर सहित १२ वटा मोटर साइकल जलेर नष्ट भएको छ ।
कुल बहादुर तामाङको घरमा बाल कुमार श्रेष्ठले सञ्चालन गर्दै आएको मोटर साइकल ग्यारेजमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण महेश कुमार राईको ढुङ्गा, माटो र टिनले बनेको तीन तले घर, ४ वटा खसी, ५० वटा कुखुरा जलेर नष्ट भएको छ भने कुल बहादुर तामाङको ढुङ्गा, माटोले बनेको दुई तले घर पनि जलेको छ ।
आगलागीमा परि ग्यारेजमा रहेको १२ वटा मोटरसाइकल पनि जलेर नष्ट भएको छ । क्षतिको यकिन विवरण आउन केही समय लाग्ने जनाइएको छ । राती दुई बजेबाट शुरु भएको आगलागी नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा बिहान ५ बजे नियन्त्रणमा आएको थियो ।








प्रतिक्रिया राख्नुहोस्