तपाईँ सुन्दै हुनुहुन्छः

अछामको प्रसिद्ध डौँठेगडा मेला आज

अछाम । देशका अन्य क्षेत्रमा कोजाग्रत पूर्णिमापछि दसैँ समापन हुने भए पनि अछाम जिल्लाको दसैँ   तथा दसैँ मेला कात्तिक शुक्ल पूर्णिमासम्म चल्ने गर्दछन् । 

सोही अनुसार अछाम जिल्लाका विभिन्न ठाउँमा आज दसैँ मेला लागेको  छ । 

अछाम जिल्लाकै जिल्लाकै प्रसिद्ध ऐतिहासिक डौंठेगडा मेला बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा आज लागेको हो । 

ऐतिहासिक डौंठेगडा दसैँ मेलाको सम्पूर्ण तयारी पुरा भएको व्यवस्थापन समितिले जनाएको छ । 

मेला अवधिभर मदिरा पूर्ण रूपमा निषेध गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर खड्काले बताउनुभयो । उहाँले मदिरा सेवन गरी मोलको गरिमामा आँच आउने काम गरेमा कानुन अनुसार कारबाही गर्ने बताउनुभएको छ ।

साथै मेलामा बलि चढाउन ल्याइने राँगाहरू अनिवार्य दर्ता गर्नुपर्ने र दर्ता शुल्क ५ सय रुपैयाँ  लाग्ने उहाँले बताउनुभयो ।

साथै मेला सकिएको पछिल्लो दिन अर्थात् मङ्सिर ४ गते हुने सांस्कृतिक कार्यक्रममा पानसरा थापा र प्रकाश शाहको देउडा प्रस्तुति समेत रहने समेत उहाँले बताउनुभयो । 

डौंठेगडा दसैँ मेला वि.स. १८४९ सालदेखि निरन्तर रूपमा मनाईदैं आइएको छ । डौंठेगडामा सयौँ राँगा र बोकाको बली दिएर बर्दादेवी माताको पूजा गरिन्छ ।

यसैबिच,  मेल्लेख गाउँपालिका वडा नम्बर ६ षोडशादेवी माडीगडामा दशँै मेला लाग्ने भएको छ । 

मेलालाई व्यवस्थित गर्न मदिरा बेचबिखन ओसार पसार सेवन गर्न पूर्ण रूपमा प्रतिबन्ध गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष नरपति रावलले बताउनुभएको छ ।  

साँफेबगर नगरपालिकाको घघगुरकोट, रामारोशन गाउँपालिकाका विभिन्न वडा, मङ्गलसेन नगरपालिका वडा नम्बर १२ बान्नातोलीको बिर्कुसहित अन्य स्थानमा समेत आज दसैँ मेला लागेको हो । 

कार्तिक शुक्ल पूर्णिमाको दिन सधैँका वर्षमा अछाम जिल्लाका उक्त स्थानहरूमा दसैँ मेला लाग्ने गर्दछ । 

दसैँ मेलामा राँगा बोकाको बलि चढाइनुका साथै रात्रि मेलामा डेउडा, न्याउले लगायतका सुदूरपश्चिमका लोक संस्कृति समेत देखाइने गरिन्छ । 

यहाँ अछाम बाहेक बाजुरा, डोटी, कैलालीलगायत देश विदेशबाट मेला भर्न हजारौँको उपस्थित हुन्छन् ।

राँगा बोकाको बलि दिएपछि स्थानीय महिला तथा पुरुषहरू मिलेर सुरु खेल्ने गर्छन् भने करिब २ दिनसम्म न्याउल्या खेल खेलेर मनोरञ्जन गर्ने गर्छन् । भने स्थानीय स्तरमा गठित बाल क्लबका पदाधिकारीहरूले विभिन्न जनचेतनामूलक र मनोरञ्जनात्मक क्रियाकलाप गर्ने गर्छन्  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button