तपाईँ सुन्दै हुनुहुन्छः

असन्तुष्ट न्यायाधीशहरू आजदेखि इजलासमा

File Photo

काठमाडौँ । प्रधानन्यायाधीशसँग असन्तुष्ट सर्वोच्च अदालतका न्यायाधीशहरू आजदेखि इजलासमा फर्कनुभएको छ । 

बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट मुद्दाको पेशी तोक्न सक्ने गरी नियमावली संशोधनको प्रस्ताव पारित गरेपछि न्यायाधीशहरू इजलास फर्कनुभएको हो । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरूको माग अनुसार आज सबै पेसीमा तामेलीका लागि दिइएको निवेदन, बन्दी प्रत्यक्षीकरण वा थुनुवासम्बन्धी मुद्दा मात्रै पेसी राख्नुभएको थियो । 

आजका लागि गठन गरिएको दशमध्ये ९ वटा इजलासमा मुद्दाको सुनुवाइ भएको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलास नबसेपछि मुद्दाको सुनुवाइ हुन सकेन । 

आजका लागि प्रधानन्यायाधीश जबराले ९ वटा संयुक्त इजलास र एउटा एकल इजलास गरी कुल  दश वटा इजलासमा २ सय २२ वटा रिट निवेदन पेसी तोक्नुभएको थियो । तीमध्ये आज ४५ वटा मुद्दाको सुनुवाइ भएको छ भने १ सय ७१ वटा मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । यस्तै अरू ६ वटा मुद्दा इजलास नबसेका कारण सुनवाइ हुन सकेन ।

प्रधानन्यायाधीश जबराले आफूलाई भने आजको इजलासमा राख्नुभएको छैन ।

यसैबिच, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरूले आज पनि धर्नाको कार्यक्रमलाई जारी राखेका छन् । 

नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरूले केही दिन यता प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउँदै सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएका छन् । 

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै नेपाल बार एसोसिएसन झण्डै एक महिना यता आन्दोलनमा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button